27, Apr, 2024

लुम्बिनी : उपसभामुखमा मात्रै उम्मेदवारी दिएर गठबन्धन भत्काउने कांग्रेसको दाउ !

Bagmati Voice
संवाददाता
३ माघ २०७९, मंगलवार ०९:१७ | १ साल अगाडी

रुपन्देही । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख निर्वाचनका लागि नेपाली कांग्रेसले माओवादीलाई खुसी बनाएर साना दलको मत चोर्ने रणनीति बनाएको छ ।

सत्ता गठबन्धनको सहमति अनुसार यहाँको सभामुख माओवादी र उपसभामुख राप्रपालाई परेको थियो । स्पष्ट अल्पमतमा परेको कांग्रेसले माओवादीले पाएको सभामुखमा उम्मेदवार नउठाएर उपसभामुखमा मात्रै उम्मेदवारी दिएको छ ।

माओवादी नेतृत्वसँग उपसभामुखमा सहयोग गरे सभामुखमा उम्मेदवार नउठाउने प्रस्ताव गरेको कांग्रेसलाई माओवादीले केन्द्रबाट भएको सहमति यहाँका लागि गठबन्धनभन्दा बाहिर जान नसकिने जवाफ दिएको थियो ।

माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार कांग्रेस नेतृत्वबाट यस्तो प्रस्ताव आएपनि केन्द्रबाट गरिएको सहमति तलमाथि नहुने जवाफ दिइएको छ । सत्तारुढ दल एमालेसँग पनि कांग्रेसले पहिले नै उपसभामुख पाएमा सहमतिमा टुंगाउने प्रस्ताव गरेको थियो तर सरकारको नेतृत्व गरेको एमालेले केन्द्रको सहमतिलाई तलमाथि नगर्ने जवाफ दिएको छ ।

एमाले सांसद भूमिश्वर ढकाल भन्छन्– उपसभामुखमा मात्रै उम्मेदवारी दिएर केही रणनीति बनेको हुनसक्छ, सत्तारुढ नागरिक उन्मुक्तिबाट पनि उम्मेदवारी परेको छ तर हामी बसेर यसमा सहमति गरेका छौँ, सत्तारुढ दलको मत तलमाथि हुँदैन, गठबन्धनभित्र खेल्ने कामबाट कोही सफल हुँदैन । सकेसम्म निर्वाचनअघि नै कांग्रेस र उन्मुक्तिका उम्मेदवारले फिर्ता लिएर सहमति दिनुहोला ।

सोमबार उम्मेदवारी दर्तामा सभामुखमा माओवादीका तुलाराम घर्ती वसन्तको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् भने उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ ।

उपसभामुखमा सत्तारुढ दलबाट राप्रपाकी मेनुका खाण केसीको मनोनयन दर्ता भएको छ भने कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १को १ बाट निर्वाचित विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिबाट निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ ।

कांग्रेसका विश्वप्रेम पाठकको प्रस्तावकमा प्रदेश सभा सदस्य वसीउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् । नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको प्रस्तावकमा नरमाया ढकाल र धर्म चौधरी रहेका छन् ।

सत्तारुढ दलबाट असन्तुष्टि जनाउँदै नागरिक उन्मुक्तिलाई सहमतिमा ल्याएर उम्मेदवारी फिर्ता ल्याउनेगरी गठबन्धन दल लागेका छन् । नागरिक उन्मुक्तिका दलका नेता धर्म चौधरीले एमाले माओवादीले आफूहरूलाई अन्याय गर्न खोजेकाले उम्मेदवारी दिएको बताउँदै केही समयमा सामूहिक बैठक बसेर योजना बनाउने बताए ।

‘हामीलाई पेल्न खोजिएको छ, पहिले हुन्छ भनेका मन्त्रालय पनि नदिने भनिएको छ, त्यही भएर नै उम्मेदवारी दिएका हौँ’, चौधरीले भने, ‘ कांग्रेस सभापति अमरसिंह पुनले दलहरुबीच केही समयमा बैठक बसेर सकेसम्म सहमतिमै प्रयास खोजिने जनाएका छन् । हामीले पहिले नै उपसभामुख दिएर सहमतिमै जाऔँ भन्ने प्रस्ताव गरेका हौँ, हेरौँ आज के हुन्छ, म सबै दलसँग बसेर सहमति खोज्दैछौं’ ।

८७ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनसँग ५८ सांसद छन् । ४ सांसद रहेको नागरिक उन्मुक्तिले उम्मेदवार फिर्ता नलिएपनि अन्य दलबाट गडबड नगरे सत्तारुढ राप्रपाकै उम्मेदवार मेनका खाण केसी उपसभामुख बन्नेछिन् ।

लुम्बिनीमा गठबन्धन दलको सहमति अनुसार एमालेका लीला गिरी मुख्यमन्त्री बनेका छन् । दलहरुबीच सहमति नहुँदा एमाले माओवादीबाट २ बिना विभागीय मन्त्री मात्र बनेका छन् ।

सभामुख उपसभामुखको प्रक्रिया सकाएपछि मन्त्री परिषद् बिस्तार र विश्वासको मत लिने विषयमा निर्णय गरिने सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।

३ माघ २०७९, मंगलवार ०९:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading