26, Apr, 2024

अरनिको यातायातको नयाँ अभियान : दुर्घटना न्यूनीकरणका लागि मजदुरहरूलाई मासिक प्रशिक्षण

Bagmati Voice
संवाददाता
२६ चैत्र २०७९, आईतवार ०८:४० | १ साल अगाडी

सिन्धुपाल्चोक । राजधानी पूर्वका जिल्लाहरूमा लामो समयदेखि यातायात सञ्चालन गर्दे आइरहेको पूर्व अरनिको यातायात कम्पनीले दुर्घटना न्यूनीकरण गर्नका लागि नियमित रूपमा यातायात मजदुरहरूलाई प्रशिक्षण दिन सुरु गरेको छ ।

चालकहरूको लापरबाहीले दैनिक रूपमा सडक दुर्घटना हुन थालेपछि पूर्व अरनिको यातायात कम्पनी मार्फत कार्यरत चालक,सह–चालक तथा परिचरहरूका लागि मासिक रूपमा अभिमुखीकरण तालिम सञ्चालन गरेको हो ।

पूर्व अरनिको यातायातले प्रत्येक महिनाको २३ गते मजदुरहरूलाई ट्राफिक नियम,यात्रुहरूसँग गरिने व्यवहार, यातायात सम्बन्धी नियम कानुन लगायतका विषयमा प्रशिक्षण दिन सुरु गरेको पूर्व अरनिको यातायात कम्पनी प्रालिका अध्यक्ष केदार खत्री क्षत्रीले जानकारी दिए ।

प्रत्येक महिना हुने यस्ता प्रशिक्षणमा न्यूनतम एक सय बढी मजदुरहरू तालिममा सहभागी हुने गरेको र अहिले दुर्घटनामा समेत कमी हुँदै गएको अध्यक्ष क्षत्रीले बताए ।

यातायात क्षेत्रका विज्ञ, ट्राफिक प्रहरी, नेपाल प्रहरी, सरकारी वकिल लगायतका यातायात सँग सरोकारवाल विज्ञहरू ल्याएर मजदुरहरूलाई प्रशिक्षण दिने गरिएको अध्यक्ष क्षत्रीले जानकारी दिए ।

अध्यक्ष क्षेत्री आफै पनि यातायात मजदुरहरूलाई यात्रुहरूसँग कसरी राम्रो व्यवहार गर्ने, दुर्घटना न्यूनीकरण कसरी कमी गर्ने भनेर यस्ता प्रशिक्षण कार्यक्रमहरूमा मजदुरहरूलाई प्रशिक्षण दिने गरेका छन् ।

पूर्व अरनिको यातायात सञ्चालन हुने जिल्लाहरूमा छुट्ने बसहरूको काउन्टरमा प्रत्येक दिन बिहान पुगेर बसका चालक, सहचालकहरूसँग भेटघाट गरेर यात्रुहरू प्रति जिम्मेवार भएर प्रस्तुत हुन सबैलाई आग्रह गर्दे काउन्टरहरूमा जाने गरेको अध्यक्ष क्षत्रीले बताए ।

हामी अब कोर्स नै बनाएर मजदुरहरूलाई प्रशिक्षण दिने योजनामा छौ अध्यक्ष क्षेत्रीले भने,‘ कोर्स निर्माण गरेर सिकायौ भने सबै मजदुरहरूका लागि राम्रो हुन्छ ।’ राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा लगायत १६ बढी जिल्लाहरूमा अरनिकोले विगत ५० वर्षदेखि नियमित रूपमा यातायात सञ्चालन गर्दे आइरहेको छ ।

अहिले अन्य जिल्लाहरूमा समेत यातायात सञ्चालनका लागि दैनिक रूपमा त्यस क्षेत्रका जनप्रतिनिधिहरूले आग्रह गर्दे पत्र आउने गरेको र आफूहरू अन्य जिल्लाहरूमा समेत यातायात सेवा बिस्तारका लागि सकारात्मक रहेको पूर्व अरनिको यातायात प्रालिका सचिव प्रभुराम थापाले बताए ।

२६ चैत्र २०७९, आईतवार ०८:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading