27, Apr, 2024

अमेरिकाका चार प्रमुख बैंकले गुमाए एकै दिनमा ५५ अर्ब डलर

Bagmati Voice
संवाददाता
२७ फाल्गुन २०७९, शनिबार १३:०९ | १ साल अगाडी

एजेन्सी । सिलिकन भ्याली बैंक र सिल्भरगेट वित्तिय संस्था गम्भिर समस्यामा परेपछिको परकम्पले खस्किन शुरू गरेको अमेरिकी शेयर बजारमा वाल स्ट्रीटका प्रमुख चार बैंकको शेयर मूल्य बिहीबार एकै दिनमा ५५ अर्ब अमेरिकी डलरले ओरालो लागेको छ ।

अमेरिकी बैंकहरू जेपी मोर्गन, वेल्स फार्गो, बैंक अफ अमेरिका र मोर्गन स्ट्यान्लेको यो नोक्सानीसँगै गोल्डम्यान स्याक्स र सिटी लगायतका प्रमुख वित्तीय संस्थाहरूको शेयर मूल्यमा समेत गिरावटको क्रम जारी छ । यीमध्ये जेपी मोर्गनले मात्रै एकै दिनमा २२ अर्ब डलरभन्दा बढीको गिरावट सामना गरेको थियो, जसको शेयर मूल्य ५.४१ प्रतिशतले घटेर १३०.३४ अमेरिकी डलरमा आइपुगेको छ ।

यस्तै, बैंक अफ अमेरिकाले १६.१६ अर्ब डलर, वेल्स फार्गोले १०.३ अर्ब डलर र मोर्गन स्ट्यानलेले ६.२ अर्ब अमेरिकी डलरको नोक्सानी ब्यहोरेका छन् । अमेरिकी वित्तीय संस्थाहरू सिल्भरगेट बन्द भएको र सिलिकन भ्याली बैंकले आफ्नो झन्डै २ अर्ब डलर बराबरको घाटा तिर्न थप शेयर बिक्री गर्ने घोषणा गरेपछि उसको शेयरमा आएको ६० प्रतिशतभन्दा बढीको पहिरोले वाल स्ट्रीटलाई दबाबमा पारेको विज्ञहरूको अनुमान छ ।

अमेरिकाका चार ठूला बैंकहरूमाथिको दबाब शुक्रबार पनि जारी रह्यो । जसमा जेपी मोर्गनले १.१० प्रतिशत, बैंक अफ अमेरिकाले ०.६२ प्रतिशत, वेल्स फार्गोले ०.८८ प्रतिशत र मोर्गन स्ट्यान्लेले ०.४३ प्रतिशतको थप नोक्सानी ब्यहोरिसकेका छन् भने क्रिप्टोकरेन्सी क्षेत्रको प्रवर्धनमा सघाउँदै आएको सिग्नेचर बैंकको शेयर मूल्यमा एक चौथाइको भारी गिरावट आइसकेको छ ।

अमेरिकी बैंकहरूको समस्याको प्रभाव अमेरिकामा मात्रै सीमित छैन । युरोपको दोइच बैंकले ७.४ प्रतिशत, ससाइटी जेनेरालले ४.५ प्रतिशत, क्रेडिट सुइसले ४.८ प्रतिशत, बर्क्लेजले ३.८ प्रतिशत र एचएसबीसीले ४.६ प्रतिशतको गिरावट ब्यहोरेका छन् ।

विज्ञहरूले बैंकहरूको अहिलेको समस्यालाई बढ्दो ब्याजदरको प्रतिफल मानेका छन् । ‘सिलिकन भ्याली बैंक होस् वा अन्य कुनै क्षेत्रका वित्तीय संस्था, कसैले पनि शायद ब्याजदरको यो महङ्गी यति लामो समयसम्म रहला भन्ने सोचेका थिएनन्,’ कन्स्टेलेसन रिसर्च नामक सिलिकन भ्यालीमा अवस्थित रिसर्च कम्पनीका प्रमुख रे वाङले बीबीसीसँग भनेका छन्, ‘मेरो विचारमा ठ्याक्कै त्यही भयो, उनीहरूले गलत जोखिम लिए ।’

२७ फाल्गुन २०७९, शनिबार १३:०९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading