29, Apr, 2024

आलुबालीका रोग निदानका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गर्‍यो विशेषज्ञ तालिम

बागमती भ्वाइस
बागमती भ्वाइस
३ फाल्गुन २०८०, बिहीबार १३:५२ | २ महिना अगाडी

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आलुबालीका रोग निदानका लागि विशेषज्ञ तालिम सम्पन्न गरेको छ ।

बुधवार नार्कले आफू अन्तर्गत रहेको राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रद्वारा आयोजित आलुबालीका रोग निदानको विशेषज्ञ तालिम सम्पन्न गरेको हो ।

आलुबालीमा लाग्ने ढुसी, ब्याकटेरिया, भाइरस र निमाटोड को निदान र मूल्याङ्कन गरी उपयुक्त जात सिफारिस गर्न रोग किराका तथ्यांक राम्ररी रेकर्ड गर्ने क्षमताको वृद्धि गर्ने हुनाले विशेष महत्त्व रहेको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायले बताए ।

आलुबालीका जातहरू उन्मोचन र पन्जीकरण प्रक्रियाका लागि आवश्यक बालीरोग तथ्यांक संकलनमा एकरुपता कायम गरी त्यसको प्रभावकारितामा अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक सुरज वैद्यले बताए ।

आलुबालीको अनुसन्धान गर्ने वैज्ञानिक, प्राविधिक अधिकृत र प्राविधिकहरूको रोग निदान र मूल्याङ्कन गर्ने क्षमता अभिवृद्धिका लागि गर्ने तालिम आयोजना गरिएको हो ।

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक तथा मुख्य वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठले बालीनालीको जातीय विकासका मूल बाधक नै रोग किरा भएको र तिनको निदान र व्यवस्थापनको पक्ष महत्त्वपूर्ण रहेको बताए ।

विभिन्न बालीहरूको रोग किराको तथ्यांक लिने तरिका फरक फरक हुने हुनाले आलुबालीमा काम गर्ने प्राविधिकहरूले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।
तालिममा आलुबाली अनुसन्धानमा लामो अनुभव हासिल गरेका बाली रोग विज्ञ डा. रामदेवी तिमिला, डा. शम्भुप्रसाद धिताल, सुरज वैद्यले, बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनका प्रमुख बेनुप्रसाद प्रसाईँले बालीनालीका जातहरूको दर्ता एवं उन्मोचनका कानुनी पक्षहरूबारे प्रशिक्षण दिए ।

त्यस्तै, आलुबालीको जातीय अनुसन्धान प्रक्रियाबारे राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत नीला पौडेलले आफ्नो प्रस्तुति दिइन् ।

करिब ४० जना आलुबाली अनुसन्धानमा प्रत्यक्ष रूपमा संलग्न रहेका विज्ञहरूलाई तालिम प्रदान गरिएको नार्कले जनाएको छ ।

३ फाल्गुन २०८०, बिहीबार १३:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading