26, Apr, 2024

रवि लामिछानेको प्रश्न- अमेरिकी पासपोर्ट बुझाएर नेपाल फर्केका मान्छे कति छन् ?

Bagmati Voice
संवाददाता
३० कार्तिक २०७९, बुधबार १३:०६ | १ साल अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको पक्षमा माहोल बन्दै गएपछि डिजिटल र भौतिक प्रहार सुरू भएको बताएका छन् । पहिल्यै सल्टिसकेको आफ्नो नागरिकताको विषय अहिले उछाल्न खोजिएकोमा उनले आक्रोश व्यक्त गरे ।

लामिछानेले रद्द भइसकेको पुरानो नागरिकताको आधारमा उम्मेदवारी दिएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । यसै सन्दर्भमा उनले फेसबुक लाइभमा प्रष्टीकरण दिएका हुन् । उनले चार वर्षअघि नै आफ्नो नागरिकताका विषयमा सबै कुरा सेटल गरिसकेको उल्लेख गरे ।

लामिछानेले भने, ‘यो चार वर्षअघि सकिएको विषय हो । धेरैअघि समाधान भइसकेको भनेर सबै जानकारी गराइसकेको छु । कसैले उजुरी दिनु ठूलो कुरा होइन । यसबाट म विचलित हुन्न र मतदाताहरूलाई पनि विचलित नहुन आग्रह गर्छु ।’

यो देशमा धेरै मानिसहरू कतिखेर विदेश जाउँ भनेर लाइन लागेर बसेको रविले बताए । तर, आफू विदेशको सबै सुख सुविधा त्यागेर देशका लागि केही गर्ने अठोटका साथ नेपाल फर्किएको उनको भनाइ छ ।

‘मैले शुल्क तिरेर निवेदन दिएर यूएसको पासपोर्ट त्यागेको हुँ । यूएस पासपोर्ट बुझाएर नेपाल आएका कति मान्छे छन्,’ लामिछानेले प्रश्न गरे ।

उनले आफ्नो पार्टीमाथि ‘फिजिकल’ र ‘डिजिटल’ आक्रमण चलिरहेको भन्दै कसैलाई पनि विचलित नहुने आग्रह गरे । आयोगको पत्र आफूलाई प्राप्त भइसकेपछि उचित जवाफ पठाउने पनि उनले बताए ।

‘ममाथि हुने सबैखाले आक्रमणको जवाफ चाहीँ मंसिर ४ बाट नै दिने हो,’ लामिछानेले भने ।

आफूमाथि प्रत्येक दिन नयाँ नयाँ फण्डा गर्न एउटा जत्था चितवनमै अड्डा जमाएर बसेको रविले आरोप लगाए । आफूले जीवनमा केही कमजोरी गरेको भन्दै त्यसलाई लिएर जीवनभर खेदिरहने र त्यसको सामना गर्न तयार रहेको उनी बताउँछन् ।

३० कार्तिक २०७९, बुधबार १३:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading