26, Apr, 2024

दुई महिनाको अवधिमा १ लाख २८ हजार ३२९ जना पर्यटक, बढ्न थाले चिनियाँ

Bagmati Voice
संवाददाता
१७ फाल्गुन २०७९, बुधबार १५:२८ | १ साल अगाडी

काठमाडौं । सन् २०२३ को दुई महिनाको अवधिमा १ लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुअरीमा उक्त संख्यामा पर्यटक नेपाल आएका हुन् । जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

चीन सरकारले ६ फेब्रुअरीबाट आफ्ना नागरिकलाई भ्रमणमा जान खुला गरेको छ । यसको सकारात्मक प्रभाव नेपालमा समेत देखिन थालेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । समग्रमा भने भारत र अमेरिकी पर्यटकको संख्या बढी देखिएको छ ।

फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ ।

सन् २०२० पछि फेब्रुअरीमा धेरै पर्यटक

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२० पछि यस वर्ष फेब्रुअरीमा सबैभन्दा धेरै संख्यामा पर्यटक भित्रिएका छन् ।

सन् २०२० को फेब्रुअरीसम्म कोभिड १९ को प्रभाव र यात्रामा प्रतिबन्ध थिएन । त्यसपछिको महिनामा भने यात्रामै प्रतिबन्ध लागेको हो । तथ्यांकअनुसार सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६, सन् २०२१ को फेब्रुअरीमा ९ हजार १४६ र सन् २०२० को फेब्रुअरीमा भने ९८ हजार १९० जना पर्यटक नेपाल आएका थिए । सन् २०१९ को यसै महिनामा १ लाख २ हजार ४२९ जना पर्यटक नेपाल आएका थिए ।

भारतीय पहिलो, अमेरिकी दोस्रो बढी संख्यामा

नेपाल भ्रमणमा आउने विदेशी नागरिकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा माथि छ । फेब्रुअरी २०२३ मा मात्र भारतबाट १८ हजार ४०१ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक छन् । यस महिनामा अमेरिकाबाट ७ हजार ८८७ जना पर्यटक नेपाल आएका छन् ।

तेस्रो स्थानमा थाइल्याण्ड छ । यस मुलुकबाट फेब्रुअरीमा ४ हजार ८०२ जना पर्यटक नेपाल आएका छन् । चौथो स्थानमा बेलायत छ । यस मुलुकबाट ४ हजार ३४५ छन् । दक्षिण कोरियाबाट एक महिनाको अवधिमा ३ हजार २४६ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ । यस महिनामा अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ जना पर्यटक नेपाल आएका छन् ।

१७ फाल्गुन २०७९, बुधबार १५:२८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading