26, Apr, 2024

काठमाडौं ६ मा कांग्रेस-एमालेका उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि

Bagmati Voice
संवाददाता
२७ कार्तिक २०७९, आईतवार ०९:३१ | १ साल अगाडी

काठमाडौ । काठमाडौ पछिल्ला केही दिनदेखि हामी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ का मतदाताकहाँ पुगिरहेका छौं।

गएको बुधबार हामी गल्कोपाखा पुगेका थियौं। ४५ वर्षीया रत्ना श्रेष्ठ उनकी बहिनीको कस्मेटिक पसलमा गफ गर्दै बसेकी थिइन्। हामीले निर्वाचन र उम्मेदवारबारे कुरा गर्ने भनेपछि उनी तयार भइन्।

बहिनीले भने ‘मलाई केही थाहा छैन, मेरो नाम नलेख्नू’ भनिन्।

कुराकै बीच रत्नाकी बहिनीले ‘आजको पत्रिकामा पनि काठमाडौं ६ कै प्रतिस्पर्धाबारे लेखेको रहेछ’ भन्दै देखाइन्।

रत्नाले पत्रिकामा छापिएको उम्मेदवारको फोटो हेर्दै भनिन्, ‘आम्मै भिमसेनदास भनेका यस्ता पो रैछन्। हामीले भोट दिने गरेका मान्छे त कहिल्यै चिनेको थिइनँ।’

भिमसेनदास प्रधान नेपाली कांग्रेसको तर्फबाट यो क्षेत्रमा उम्मेदवार छन्। यहाँबाट पछिल्ला दुइटा संसदीय निर्वाचन उनैले जितेका छन्।

रत्नाले त्यसपछि एमालेबाट उम्मेदवार बनेका पूर्वआइजिपी सर्वेन्द्र खनालको फोटो हेरिन्। अनि भनिन्, ‘यो मान्छे पनि उठेको रहेछ। डिआइजी हुँदा त यसले खुब तहल्का मच्चाएको थियो नि है!’

यसपालि कसलाई मत दिने भन्ने बारेमा अहिलेसम्म घरमा छलफल नभएको उनले सुनाइन्। तर उनले आफ्नो मत कसलाई दिने भन्नेबारे अठोट गरिसकेकी छन्।

‘यसपालि त आफू एक्लै भए पनि एउटा भोट नयाँ उम्मेदवारलाई दिन्छु,’ उनले भनिन्।

घरसल्लाह हुँदा श्रीमानले पुराना नेतालाई नै भोट दिनु पर्छ भन्लान् भन्ने शंका रत्नालाई छ। तर यसपालि उनी आफ्नो मनको गर्ने पक्षमा छिन्। ‘पहिले-पहिले त बुढाले भन्या ठाउँमा भोट हाल्या हो। यसपालि त उनले पुरानैमा हाल भने पनि नमान्ने हो,’ उनले भनिन्, ‘आफ्नो अधिकारको भोट हो नि!’

‘नयाँलाई दिने तर कसलाई दिने अहिलेसम्म थाहा छैन,’ उनले भनिन्। पुराना र दलका उम्मेदवारलाई किन मत नदिने भन्नेबारे उनको आफ्नै तर्क छ।

‘एक्लै चुनिए पो काम गर्न सक्छ। पार्टीको मान्छे भएपछि उसलाई माथिबाट दबाब आउने रहेछ। अनि काम गर्न नसक्ने रहेछ,’ उनले भनिन्, ‘पार्टी बोकेर आउँछ, लौरो बोकेर आए पो मत दिन हुन्थ्यो।’

पहिला कांग्रेसलाई मत दिने गरेकी उनलाई कांग्रेसका ‘बूढा नेता’ देखेर दिक्क लागेको छ रे। ‘पार्टीमा त जति बूढो भए नि युवा नेता भन्दा रहेछन्। आफूलाई ३५ कटेसी बुढो भइयो जस्तो लाग्छ। उनीहरू त ६० पुगुन्जेल पनि युवा नेता रे,’ उनले मुख लेप्र्याइन्।

असनका २८ वर्षीय शशांक तुलाधरको घरमा सल्लाह गरेर यसपालि कसलाई मत दिने भन्ने निर्णय भइसकेको छ। उनीहरू पहिले सधैं नेकपा एमालेलाई मत दिन्थे। यसपालि भने शशांकका बाबुले नै अब पुरानालाई होइन, नयाँलाई दिनु पर्छ भन्ने प्रस्ताव राखेपछि तुलाधर परिवारको भोट एमालेलाई नजाने भएको छ।

‘यसपालि त हामी राष्ट्रिय स्वतन्त्र पार्टीलाई घन्टीमा मा भोट हाल्ने हो,’ शशांकले भने। शशांकको ठमेलमा रेस्टुरेन्ट छ। विदेशमा पढ्न गएका उनी नेपालमै केही गर्ने भनेर फर्किएका हुन्। यहाँ व्यवसाय गर्न सरकारी प्रक्रिया कति झन्झटिलो छ भन्ने उनले आफैं भोगेका छन्।

उदाहरण दिँदै उनले भने, ‘हामीले फेज-लाइन ल्याउन पर्ने थियो। त्यो एक हप्ताको काम हो। तर सरकारी कार्यालयले चार महिना झुलाइदियो। सरकारले त हामीलाई सेवा दिने हो नि! तर सरकारमा बस्नेहरूलाई मतलब नै छैन,’ उनले भने।

यस्तो काम नलाग्ने ‘सिस्टम’ बनाउनेलाई अब फेर्न पर्ने उनलाई लागेको छ। नयाँ आउनेले जनताको सेवा गरून्, भ्रष्टाचार नगरून् भन्ने उनको चाहना छ।

सामाखुसीका उमेश पाठक कांग्रेसलाई भोट दिँदै आएका मतदाता हुन्। उनले पनि यसपालि चुनावमा पार्टी फेर्ने विचार गरेका छन्। प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी र समानुपातिकमा राप्रपालाई मत दिने निर्णय गरेको उनले बताए।

‘तीन पटक लगातार कांग्रेसलाई दिएको हो। केही काम गर्दैन, कति दिनु? त्यसमाथि गठबन्धन भनेपछि मेरो पारा तातेर आउँछ,’ उनले भने, ‘किन गठबन्धन बनाएका यिनीहरूले थाहा छ? मिलेर खान!’

काठमाडौं क्षेत्र नम्बर ६ का विभिन्न चोक, टोल र गाउँ पुग्दा हामीले यसपालि मुख्य दलहरूप्रति मतदाताको दिक्दारी र आक्रोश धेरै नै पायौं। यो आक्रोश यसपालि यहाँ मतपत्रमा पोखिँदै छ भन्ने प्रष्ट संकेत छ। पाँच वर्षअघि नेपाली कांग्रेस र एमाले-माओवादी गठबन्धनका उम्मेदवारलाई मत दिएका मतदाताको ठूलो हिस्सा यसपालि यी दललाई मत नदिने निष्कर्षमा पुगेको छ।

हामीले कुरा गरेका २५१ मतदातामध्ये सबभन्दा धेरै ७७ जनाले (३०.६ प्रतिशत) राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मत दिने बताए।

दोस्रोमा नेपाली कांग्रेसका भिमसेनदास प्रधानलाई ४६ जनाले (१८.३ प्रतिशत) मत दिने बताए भने तेस्रोमा एमालेका सर्वेन्द्र खनाललाई ३२ जनाले (१२.७ प्रतिशत) मत दिने बताए। त्यस्तै दुई जनाले राप्रपालाई, १० जनाले स-साना दल र अरू उम्मेदवारलाई दिने मत बताए।

पहिलो पटक राजनीतिमा प्रवेश गर्न लागेका शिशिर खनाललाई भर्खरै बनेको राजनीतिक पार्टीको चुनाव चिह्नमा यति धेरै संख्यामा मत दिन मानिसहरू किन तयार भए?

प्रत्यक्षमा शिशिर र समानुपातिकमा उनको दलले पाउने मत कहाँबाट आउँदैछ?

शिशिरलाई मत दिन्छु भन्ने ७७ जनामध्ये परम्परागत रूपमा नेपाली कांग्रेसलाई मत दिने गरेका २७ जना छन्। पहिले एमालेलाई मत दिने गरेका पनि २७ जना नै छन्। यसअघि राप्रपालाई मत दिएका ३ जना र विवेकशील साझालाई दिएका २ जनाले पनि शिशिरलाई दिन्छु भने। उनलाई मत दिनेमध्ये ६ जना नयाँ मतदाता छन्। थप १२ जनाले पहिले कसलाई मत दिएको भनेर बताउन चाहेनन्।

कांग्रेस र एमालेको अर्को ठूलो हिस्साले यसपालि कसलाई मत दिने भन्ने निर्णय अझै गर्न सकेको छैन। हामीले कुरा गरेकामध्ये ८४ जना (३३.४ प्रतिशत) मतदाताले कसलाई मत दिने भन्ने अझै निर्णय गरिनसकेको बताएका छन्। तीमध्ये यसअघि कांग्रेसलाई मत दिने ४९ जना छन् भने एमालेलाई मत दिने ३३ जना छन्। दुई जना पाँच वर्षअघि राप्रपालाई मत दिएकाहरू छन्।

काठमाडौं ६ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै धेरै मत आउने देखिन्छ। हामीले कुरा गरेकामध्ये ६१ जनाले घन्टीमा मत दिने बताए। ४५ जनाले रूखमा र २८ जनाले सूर्यमा मत दिने बताए।

घन्टीलाई समानुपातिकमा मत दिने ६१ जनामा पनि बहुसंख्यक एमाले र कांग्रेस नै छन्। पहिले एमालेलाई सूर्यमा मत दिएका २१, कांग्रेसलाई रूखमा मत दिएका १८, नयाँ मतदाता ८ जना र पहिले दिएको मत खुलाउन नचाहने १४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई घन्टीमा मत दिने बताए।

एमाले र कांग्रेसलाई परम्परागत रूपमा मत दिँदै आएका मतदाताको ठूलो संख्याले उनीहरूलाई मत नदिने निर्णय गरेको यो पहिलो पटक होइन।

गत स्थानीय निर्वाचनमा एमालेका मेयर उम्मेदवार केशव स्थापितले पाएको मत पाँच वर्षअघि विद्यासुन्दर शाक्यले पाएको मतको झन्डै आधा थियो। कांग्रेसका मेयर उम्मेदवारले २०७४ सालमै धेरै कम मत ल्याएका थिए। परम्परागत रूपमा कांग्रेसलाई मत दिँदै आएका मतदाताको मतको ठूलो अंश त्यही बेला विवेकशील र साझा पार्टीका उम्मेदवारलाई गएको थियो। यसपालिको स्थानीय निर्वाचनमा पनि कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहको मत पाँच वर्षअघि सो दलका राजु शाक्यले पाएको मतभन्दा कम थियो।

काठमाडौं ६ को संसदीय निर्वाचनमा भने पहिलो पटक यी दुई दलबाट समर्थकको ठूलो हिस्सा बाहिरिने देखिँदैछ।

कांग्रेस र एमालाई यसअघि मत दिएका यस क्षेत्रका मतदाताको विरक्ति अर्को तथ्यांकमा पनि प्रष्टसँग देखिन्छ।

यसअघि यी दुई दललाई मत दिएका मतदातामध्ये आधाभन्दा धेरै कसलाई मत दिने भनेर अझै अनिर्णीत छन्। कांग्रेस एमालेका परम्परागत मतदाताको ठूलो संख्याले एकातिर अरू दल वा उम्मेदवारलाई मत दिने निर्णय गरिसकेको छ भने कतिपय अझै कसलाई मत दिने भनेर अनिर्णीत देखिन्छन्।

यसपालि पनि कांग्रेस, एमालेलाई मत दिने निर्णय गरेकाभन्दा निर्णय गर्न बाँकी र अर्कै दललाई मत दिने मन बनाएका मतदाताको संख्या धेरै छ।

यी दुई ठूला दललाई यसपालि मत नदिने निर्णयमा पुगेका मतदाताले फरक-फरक कारण बताएका छन्। कतिपय कारण निजी अनुभवसँग जोडिएका छन् भने कतिपय राजनीतिक मुद्दा र मुलुकको परिस्थितिसँग जोडिएका छन्।

सामाखुशीका विनोद प्रजापतिले यसअघि सधैं एमालेलाई मत दिँदै आएका हुन्। यसपालि भने स्वतन्त्र उम्मेदवार सञ्जय श्रेष्ठलाई भोट दिने भएका छन्। समानुपातिकमा भने घन्टीलाई भोट दिने उनले बताए।

उनलाई एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको मनपरेको रहेनछ।

‘एसपी हुँदा त गोली ठोकेर मान्छे ठहरै पार्नेले सांसद हुँदा के गर्छ? सर्वेन्द्रलाई नउठाएको भए मेरो भोट एमालेलाई नै जान्थ्यो तर अब म सञ्जयलाई दिन्छु,’ उनले भने, ‘कम्तीमा उसले गीत त गाउँछ!’

धर्मस्थलीकी मैया डंगोलले नेवार समुदायको भएकाले यसअघि भिमसेनदासलाई भोट दिएको बताइन्। यसपालि उनलाई पुराना दललाई मत दिन मन छैन रे।

‘रवि लामिछाने चुनाव उठ्ने भनेपछि म त उसैलाई मत हाल्ने भनेर बसेकी थिएँ। तर उनी यहाँबाट उठेका होइन रहेछ,’ उनले भनिन्। उम्मेदवारका रूपमा रविलाई मत दिन नपाए पनि उनको पार्टीलाई मत दिने मैयाले बताइन्। ‘मलाई बालेन र रवि लामिछाने मन पर्छ,’ उनले भनिन्।

चोपलाल आचार्यको बागबजारमा पुस्तक पसल छ। यहाँ धेरै विद्यार्थीहरू आइरहन्छन्। उनको पसल जतिखेरै पनि विद्यार्थीले घेरिएको हुन्छ। चुनावको मुखमा पनि उनीहरूको कुरा भने बाहिर कुन देशमा जाने भन्ने मात्र हुन्छ।

‘जो पनि विदेशिने कुरा मात्र गर्छन्। सुन्दा पनि दिक्क लाग्छ,’ उनले भने, ‘हाम्रा विद्यार्थीहरूको भविष्य देखेर पनि मलाई राजनीतिक पार्टीहरूसँग रिस उठेको हो।’

देशमा जुनसुकै पार्टीको सरकार बने पनि रोजगारीको सुनिश्चितता दिन नसकेकोमा उनी असन्तुष्ट छन्।

गोंगबुमा बस्ने ४० वर्षीय सुरेन्द्र श्रेष्ठलाई पनि देशमा रोजगारी सिर्जना नभएको र युवाहरू विदेशिनु परेकाले चिन्ता लागेको छ। ‘नेपालमै रोजगारी भएको भए धेरै युवाहरूले परिवारसँगै बसेर, नानीहरूसँग खेलेर खान पाउँथे। अहिले परिवार लथालिंग भएका छन्,’ उनले भने।

आफू सधैं कांग्रेस नै भए पनि यसपालि भिमसेनदासलाई मत नदिने निर्णय उनले गरेका छन्। ‘विद्रोह भनेको आफैंबाट गर्नु पर्छ। पार्टीले उही पुरानो मान्छेलाई उठाएको पनि मलाई चित्त बुझेको छैन,’ उनले भने।

यसपालि पनि कांग्रेस वा एमालेलाई नै मत दिन्छु भन्ने मतदाताहरूका पनि आफ्नै तर्क र कारण छन्।

तारकेश्वर नगरपालिका वडा नम्बर ११ मा भेटिएकी वृद्धा सानुमैया श्रेष्ठले सूर्यमै भोट हाल्दै छिन्। उनले अहिलेसम्म आफ्नो क्षेत्रमा उठेको उम्मेदवार पनि चिनेकी छैनन्। तर भोट एमालेलाई नै हाल्ने बताउँछिन्। उनले एमालेमा भोट हाल्नुकै एउटा कारण छ- वृद्धभत्ता।

‘एमाले सरकारमा पुग्यो भने हामीलाई भत्ता बढाइदिन्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘अहिलेसम्म एमालेलाई नै मत दिँदै आएकी छु। बाँचुन्जेल यसलाई नै दिन्छु।’ जीविकोपार्जनको स्रोत नै वृद्धभत्ता भएकाले पनि उनको भरोसाको दल एमाले बनेको छ।

तारकेश्वरको चिमर पोखरीकी जानुका कार्कीलाई आफ्नो घरअघिको धूलाम्मे बाटो सम्झिँदा भोट हाल्न नजाऊँ कि जस्तो हुन्छ। तर पनि उनले यसपालि पनि कांग्रेसलाई भोट हाल्दै छिन्।

‘हामी त जहिले पनि कांग्रेस हो। यो टोलमा अरू भेट्नु हुन्न,’ उनले भनिन्, ‘भिमसेनदासलाई नै यसपालि पनि दिने हो। अन्त हातै जान्न, के गर्नु!’

तारकेश्वर धर्मस्थलीका गणेश महर्जनले पनि यसअघि कांग्रेसलाई भोट दिएका थिए। जसलाई भोट दिए पनि उस्तै हो भन्ने उनको पनि निष्कर्ष छ। यसपालि पनि उनी भोट कांग्रेसलाई नै दिने पक्षमा छन्।

‘हामीले भोट दिएर हुने त केही होइन। जसलाई भोट दिए पनि तिनले गर्ने केही होइन। फेरि पनि यहाँ भिमसेनदासले नै जित्छ। अरूलाई दिएर कामै छैन,’ उनले भने, ‘म त पहिल्यैदेखि कांग्रेस भएकाले अन्त हात जान्न।’

गोंगबुका रामेश्वर अधिकारीले यसअघि एमालेलाई भोट दिएका थिए। यसपालि भने उनले कांग्रेसमा भोट हाल्ने बताए।

‘सर्वेन्द्र खनाललाई म व्यक्तिगत रूपमा राम्रो मान्दिनँ। उनले प्रहरीमा हुँदा गरेका कामकारबाहीको जानकारी छ, त्यसैले मन पर्दैन। भिमसेनदासको खास नराम्रो सुनेको छैन। मान्छे ठीक छन्, त्यसैले भोट दिन्छु। समानुपातिकमा भने पहिले माओवादीलाई दिएको र अहिले पनि माओवादीलाई नै दिने हो,’ उनले भने।

टोखाका विनोद निरौलाले भने सर्वेन्द्र खनालले प्रहरी हुँदा राम्रो काम गरेको भन्दै भोट दिने बताए।

सर्वेन्द्रले सांसद भएपछि क्षेत्र नम्बर ६ लाई नमूना बनाउँछु भन्दै पेस गरेका ‘भिजन’ उनलाई मन परेको छ।

‘सर्वेन्द्र खनाल भिजन भएको मान्छे हो। प्रहरीमा हुँदा पनि छाउपडी गोठ हटाउनेदेखि अराजकता रोक्नेसम्मका काम गरेका छन्,’ उनले भने, ‘एमालेले पनि सरकारमा छँदा राम्रो काम गरेको छ। राष्ट्रियता जोगाउने पार्टी हो, त्यसैले पनि म एमालेलाई भोट दिन्छु।’

हामीले कुरा गरेमध्ये ३३ प्रतिशतभन्दा पनि बढी मतदाताले कसलाई मत दिने भन्ने अझै निर्णय गरिनसकेको बताएका छन्।

निर्वाचनका दिन यसको आधा मत कांग्रेस वा एमालेका उम्मेदवार एक्लैलाई गयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग सो उम्मेदवारको बलियो प्रतिस्पर्धा हुनेछ। त्यो अवस्थामा जीतबारे अहिले नै अनुमान लगाउन कठिन हुन्छ। तर यो अनिर्णीत मत अन्तिम समयमा तीनै उम्मेदवारबीच बराबर बाँडियो वा यसको धेरै हिस्सा शिशिरलाई गयो भने उनले ठूलै अन्तरले निर्वाचन जित्नेछन्।

२७ कार्तिक २०७९, आईतवार ०९:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading