15, May, 2024

अन्ततः दृष्टिविहीन शिक्षकलाई हाजिरी गरायो रामेछापको मानेडाँडा माध्यमिक विद्यालयले

Bagmati Voice
संवाददाता
१ चैत्र २०७९, बुधबार १०:५७ | १ साल अगाडी

काठमाडौ । काठमाडौ रामेछापको खाँडादेवी गाउँपालिकास्थित मानेडाँडा माध्यमिक विद्यालयले दृष्टिविहीन महिला शिक्षकलाई हाजिरी गराएको छ।

शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएर निम्नमाध्यमिक तहको नेपाली शिक्षकको नियुक्ति पाएकी चितवनकी संगीता पराजुलीलाई विद्यालयले दृष्टिविहीन भएकै कारण हाजिरी गर्न दिएको थिएन।

शिक्षक सेवा आयोगले निकालेको रोल नम्बरअनुसार रामेछापमा परेकी पराजुलीलाई त्यहाँको शिक्षा विकास तथा समन्वय इकाइले शिक्षक नियुक्त गरेर पदस्थापनका लागि खाँडादेवी गाउँपालिका पठाएको थियो।

उनलाई गत माघ २३ गते गाउँपालिकाले वडा नम्बर ९ को मानेडाँडा माध्यमिक विद्यालयको नेपाली शिक्षकमा पदस्थापनको पत्र दिएको थियो। तर उक्त विद्यालयले दृष्टिविहीन शिक्षकलाई स्वीकार्न नसकिने भन्दै पराजुलीलाई हाजिरी गराउन अस्वीकार गरेको थियो।

यस विषयमा हामीले फागुन ११ गते ‘स्थायी नियुक्ति पाइन् तर दृष्टिविहीन भनेर हाजिरी गर्नै दिइएन’ समाचार प्रकाशन गरेका थियौं।

२०७६ मा शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएकामध्ये अपाङ्गता भएका र महिलालाई जिल्ला र विद्यालय रोज्न प्राथमिकता दिने गरिएको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक नियुक्ति तथा पदस्थापनको आधार र मार्गदर्शनमा परिवर्तन गरेसँग उनीहरुले अग्राधिकार गुमाएका थिए।

यही कारण पूर्ण दृष्टिविहीन शिक्षक पराजुली रामेछापको खाँडादेवी गाउँपालिकाको विकट गाउँ तीनखुरीमा रहेको मानेडाँडा माध्यमिक विद्यालय पुगेकी थिइन्।

गाउँपालिकाले पदस्थापन गरेलगत्तै विद्यालय व्यवस्थापन समिति र वडाले दृष्टिविहीन शिक्षक नस्वीकार्ने भन्दै पत्र पठाएपछि पराजुली चितवन फर्किएकी थिइन्।

खाँडादेवी गाउँपालिकाको शैक्षिक प्रशासन शाखाका प्रमुख मीनबहादुर थापाले विद्यालयले पराजुलीलाई हाजिरी गराएको जानकारी दिए।

‘हामीले माघको २३ गते नै उहाँलाई पदस्थापन गरेर जानकारी गराउने व्योहोराको पत्र पठाएका थियौं तर सम्बन्धित विद्यालयले हाजिरी गराउन नसक्ने जानकारी गराएको थियो। अस्तीमात्रै विद्यालयले उहाँलाई हाजिरी गराएको छ,’ थापाले भने।

उनले पराजुलीका लागि उक्त विद्यालयमा उपयुक्त वातावरण नबनेका कारण काजमा अन्य विद्यालयमा खटाउने तयारी भइरहेको बताए।

‘हामीले विद्यालय व्यवस्थापन समिति, अभिभावक, जनप्रतिनिधिहरुको बैठक राखेर हाजिरी गराउने निर्णय गर्‍यौं। तत्कालका लागि हाजिरी गराउने काम भयो,’ उनले भने, ‘अब बिहीबार शिक्षा समितिको बैठक बसेर काजको निर्णय गर्छौं।’

थापाले मानेडाँडा माविमा रहेको दरबन्दी तानेर पराजुलीलाई पायक पर्ने कुनै विद्यालयमा काजमा खटाउने तयारी भएको बताए। ‘मानेडाँडा माविमा आन्तरिक स्रोतबाट शिक्षक पूर्ति गर्ने र त्यहाँको दरबन्दी नै तानेर पराजुलीलाई अन्यत्र खटाउने हो,’ उनले भने, ‘उहाँ यहाँबाट अन्य पालिकामा सरुवा भएर गएको अवस्थामा त्यो दरबन्दी फेरि मानेडाँडा माविमै पुग्छ।’

विद्यालयले हाजिरी गराएर त्यसको जानकारी गाउँपालिकालाई गराएको उनले बताए।

‘अब उहाँको सञ्चयकोष, बीमा, नागारिक लगानी कोषको काम पनि प्रारम्भ भएको छ,’ थापाले भने, ‘६–७ गतेसम्ममा त उहाँ पढाउन थालिसक्नुहुन्छ।’

दृष्टिविहीन शिक्षकलाई विद्यालयले हाजिरी नगराएको समाचार आएपछि राष्ट्रिय मानव अधिकार आयोगले विद्यालय, गाउँपालिका र शिक्षा विकास तथा समन्वय ईकाईलाई पत्र पठाएर कारण मागेको थियो।

करिब डेढ दशक राहत दरबन्दीमा रहेर पढाएकी पराजुली गत पुसमा शिक्षक सेवा आयोगको निम्न माध्यामिक तहको नेपाली विषयको परीक्षामा उत्तीर्ण भएकी थिइन्।

पराजुलीले ढिलै भएपनि विद्यालयले हाजिरी गराएको र आफूलाई पायक पर्ने कुनै विद्यालयमा काजमा खटाउने प्रतिवद्धता गाउँपालिकाले जनाएको बताइन्।

३६ वर्षीया संगीताले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेकी हुन्। क्याम्पस पढ्दैगर्दा उनको भरतपुर–२७ मघौली घर भएका न्यूनदृष्टिविहीन गणेश महतोसँग विवाह भएको थियो।

गणेश ज्योतीनगरस्थित युवा माध्यामिक विद्यालयमामा प्राथमिक तहमा पढाउँछन्। उनीहरुका जेठा छोरा अहिले युवा माविबाट एसईई परीक्षाको तयारी गर्दैछन्। कान्छा छोरा मेघौलीस्थित जानकी माविमा कक्षा ५ मा पढ्छन्।

१ चैत्र २०७९, बुधबार १०:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading