15, May, 2024

आफैले लगानी गरेर हुर्काएका खेलाडीलाई किन टिकाउन सक्दैन एन्फा, हुलका हुल विदेश पलायन

Bagmati Voice
संवाददाता
२१ असार २०७९, मंगलवार १६:०४ | १ साल अगाडी

काठमाडौं । सिनियर राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेको एक वर्षमै दर्शन गुरुङ उतै बस्ने योजनासहित आइतबार साँझ अस्ट्रेलियातर्फ लागे । त्यसै रात नेपाली फुटबलका अर्का उम्दा खेलाडी सन्तोष तामाङले पनि अस्ट्रेलियाको फ्लाइट समातिरहेका थिए।

२१ वर्षीय दर्शन तीनै खेलाडी हुन् जसले गत महिना कुवेतविरुद्ध गोल गरेका थिए । कुवेतविरुद्ध नेपाली खेलाडीले झन्डै ४० वर्षपछि गरेको त्यो पहिलो गोल थियो ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विश्वास गरेका खेलाडीमा पर्थे दर्शन ।

‘खेलाडी आफ्नो खेल जीवनपछि कता जान्छ त्यो उसको रोजाइको विषय हो । तर २०÷२१ वर्षको उमेर अनि नेपाली फुटबलले अपेक्षा राखेका यस्ता खेलाडी बिदेसिँदा चाहिँ निकै चित्त दुख्ने रहेछ ।’,

झन्डै डेढ दशकभन्दा लामो समयदेखि नेपाली फुटबललाई नजिकैबाट नियालिरहेका विक्रम थापा भन्छन् ।

दर्शन अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटबल विकाश कार्यक्रम एन्फा एकेडेमीका उत्पादन पनि हुन् ।

देशभरका प्रतिभावान् किशोर खेलाडीहरूलाई राखेर राष्ट्रिय फुटबलको भविष्य बलियो बनाउन एन्फाले सञ्चालन गरिरहेको प्रोजेक्ट हो एन्फा एकेडेमी ।

झन्डै ४ वर्षभन्दा बढी समय एकेडेमीमा बिताएका दर्शनले घरेलु फुटबल खेल्न थालेको केही वर्ष मात्र भएको थियो ।

‘एन्फाले गरेको लगानी अन्तर्राष्ट्रिय फुटबलमा योगदान गरेर रिटर्न गर्ने समय बल्ल आएको थियो दर्शनका लागि । यसरी एकेडेमी मै रहेका खेलाडीहरूले समेत सानै उमेरमा फुटबल छाड्नु दुखद हो । एउटा राम्रो खेलाडीले नेपालको परिप्रेक्ष्यमा ३०÷३२ वर्षसम्म खेल्छ भन्ने अपेक्षा गरिन्छ’, फुटबल सम्बन्धी चर्चित नेपाली न्युज पोर्टल गोल नेपाल डटकमका सञ्चालक तथा प्रधान सम्पादकसमेत रहेका थापा भन्छन् ।

प्रशिक्षक अल्मुताइरीले आफूसँग विवाद भएपछि राष्ट्रिय टोलीको बन्द शिविरबाट १० जना सिनियर र अनुभवी खेलाडीहरूलाई निकालिरहेकै समयमा, गत महिना दुई उम्दा खेलाडी सुमन लामा र आशिष लामाले पनि अस्ट्रेलियाको फ्लाइट समातेका थिए ।

एन्फा एकेडेमीकै खेलाडीसँग प्रतिस्पर्धा गरेर उमेर स्तरको राष्ट्रिय टोलीमा परेका सुमनलाई उनको क्षमताकै कारण केही समय एन्फा एकेडेमीमा राखिएको थियो । उनी नेपाली टोलीका भरपर्दा विंगर थिए ।

सन् २०१९ मा हेमन गुरुङ र एलन न्यौपानेजस्ता खेलाडीहरू नेपाली फुटबल चटक्कै छाडेर अस्ट्रेलिया लागेका थिए । यी दुवै खेलाडी एन्फा एकेडेमीका उत्पादन हुन् । प्रतिभावान् यी दुवै खेलाडी एन्फा एकेडेमीबाट रिलिज भएको केही वर्षमै विदेशिएका हुन् ।

परिपक्व मिडफिल्डरको छवि बनाएका हेमनले कुनै समय उमेर स्तरको नेपाली टोलीको कप्तानीसमेत गरेका थिए। त्यसअघि एन्फा एकेडेमीकै उत्पादन रहेका सुलभ मास्के र प्रलय राजभण्डारी पनि अनपेक्षित रुपमा विदेशिएका थिए।

अवसरवाद, आर्थिक संकट की सुन्दर भविष्य

फुटबल खेलाडी त्यसमा पनि राष्ट्रिय टोलीबाट खेल्ने भएपछि विदेश भ्रमण भइरहन्छ । पछिल्लो समय राष्ट्रिय टोलीका खेलाडीहरूलाई विश्वका ठुला मुलुकहरू पुगिरहेका छन् । त्यसले गर्दा उनीहरूलाई ती देशमा जान आउन समस्या हुँदैन ।

त्यसबाहेक पढाई कै कारण पनि खेलाडीहरू विदेश गइरहेका छन् । अमेरिकादेखि अस्ट्रेलियासम्म नेपालीहरूले त्यहाँ फुटबल क्लबहरू स्थापना गरिसकेका छन् जसले गर्दा खेलाडीहरूलाई त्यहाँ खेल्न पाउने अवसर पनि बनिरहेको छ । तर जहाँ गएर पनि खेल्ने त हो नि भनेर सम्झिने हो भने नेपाली फुटबलको भविष्य के होला ? विश्वभर ओहोरदोहोर सहज बनिरहेको यो समयमा उठिरहेको यो गम्भीर प्रश्न हो ।

गोल नेपाल डटकमका प्रधान सम्पादक थापा नेपालमा अहिले पनि एउटा खेलाडीले मासिक २० हजारदेखि २ लाख रुपैयाँसम्म कमाइरहेको बताउँछन्। ‘आफ्नो आवश्यकता के हो र कतिमा चित्त बुझाउने भन्ने कुरा आउन सक्छ । पैसा कमाउने हिसाबले राम्रो खेलाडीले विभिन्न गोल्डकपहरु खेलेर मासिक राम्रै आम्दानी गरिरहेका छन्। तर ए डिभिजन क्लबको खेलाडीले टोल टोल पुगेर गोल्डकप खेल्ने त भन्ने प्रश्नहरू पनि आउन सक्छ जुन स्वाभाविक पनि हो’, थापा भन्छन् ।

ए डिभिजन क्लबहरूले नै केही महिनाका लागि मात्र खेलाडीहरूलाई आबद्ध गर्नु, आबद्ध क्लबबाट नियमित फुटबल खेल्ने अवस्था नहुनु र अस्तव्यस्त भविष्य हुनुले आजको अवस्था देखिएको उनको बुझाई छ ।

खेलाडीहरूले क्लबबाट वर्षभर तलब पाइरहने र अन्य विभिन्न प्रतियोगिता पनि खेल्न पाउने वातावरण बन्ने हो भने समस्याहरू समाधान हुन सक्ने उनको बुझाई छ ।

‘खेलाडीका लागि उनीहरूको खेलाडी जीवनपछि हामीले के योजना ल्याएका छौँ ? यसबारे एन्फाले सोच्नै पर्छ’, थापा भन्छन्, ‘जस्तो राष्ट्रिय टोलीबाट कम्तीमा यति खेल खेलेको खेलाडीलाई यति वर्षको बिमा गर्ने भनेर नीति ल्याउने हो भने खेल्न छाडेपछि उसले राम्रो पैसा एकमुस्ट पाउन सक्छ। खेलाडीहरू पनि राष्ट्रिय टोलीमा आउन मिहेनत गर्छन्। विभिन्न अस्पतालहरूसँग कुरा गरेर स्वास्थ्योपचारको ग्यारेन्टी गर्न सकिन्छ।’

खेलाडीहरूलाई प्रशिक्षक तालिम दिएर विभिन्न स्कुल र स्थानीय निकायमा आबद्ध गराउन सकिने पनि उनी सुझाव दिन्छन् ।

भन्छन्, ‘तर हामी एकेडेमीबाटै निस्किएका खेलाडीहरू कहाँ जान्छन्, उनीहरूबाट के पाइरहेका छौँ भन्नेमा ध्यान दिइरहेका छैनौँ । एन्फा एकेडेमीबाटै निस्किएका खेलाडीका लागि १६ देखि २० वर्षको उमेर निकै सङ्कटपूर्ण देखिने गरेको छ । त्यो उमेर समूहलाई ध्यान दिएर हामीले प्रतियोगिता गर्न सकिरहेका छैनौँ । दुर्भाग्य एकेडेमीका थोरै खेलाडी मात्र मुस्किलले अगाडि आउँछन् ।’

पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएपछि खेलाडीहरू अलपत्र पर्नुपरेको अवस्था र एन्फाको बेवास्थाका कारण खेलाडीहरूमा निराशाको स्तर अझ माथि पुगेको एक खेलाडी बताउँछन् ।

‘यहाँ राम्रै खेलेको खेलाडी त अलपत्र पर्छ र राजनीतिको शिकार हुन्छ भने अरू खेलाडीले सुरक्षित भविष्यबारे विचार गर्नु के अचम्मको कुरा भयो र’, अल्मुताइरीले बन्द शिविरबाट निकालेका एक खेलाडी भन्छन् ।

२१ असार २०७९, मंगलवार १६:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading