15, May, 2024

मानव अधिकार आयोगले भन्यो : आगलागी र डढेलोबाट नागरिकलाई जोगाऊ

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ बैशाख २०८१, सोमबार १६:०६ | २ हफ्ता अगाडी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गरी देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट मानवीय क्षतिसमेत भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्व तयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न आग्रह गरिएको छ ।

पछिल्लो चौबीस घण्टामा देशका विभिन्न जिल्लाका ४९ स्थानमा आगलागी र ४८ स्थानमा डढेलो लाग्दा १ जनाको मृत्यु हुनुका साथै ४ जना नागरिक घाइते भएका थिए । आयोगले घटनापश्चात तत्कालै राहत पाउन नसक्दा प्रभावितहरु थप समस्यामा परेको देखिएको आयोगका सहसचिव टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो एक वर्षमा आगलागी तथा डढेलोबाट ११४ जना नागरिकको मृत्यु भएको, पछिल्लो एक महिनामा आगलागीमा परेर १४ जना र डढेलोबाट ८ जनाको मृत्यु भएको जानकारी पाएको पनि मानव अधिकार आयोगले जनाएको छ ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ६, जरलहवा टोलमा १२ वैशाख २०८१ मा आगलागीबाट ९१ कच्ची र ९ वटा अर्धपक्की गरी १०० वटा घर जलेको थियो । उक्त घटनाबाट ४५५ जना प्रभावित भएका थिए ।

सुरक्षाकर्मी, स्थानीयबासी पूर्वतयारी तथा पर्याप्त सुरक्षा उपकरणबिना आगलागी नियन्त्रणमा परिचालित हुँदा थप मानवीय क्षति भएको आयोगको भनाइ छ ।

त्यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रमहरु अत्यन्त न्यून रुपमा भएको र भएका पनि सहरकेन्द्रित देखिएको पनि आयोगको निष्कर्ष छ ।

१७ बैशाख २०८१, सोमबार १६:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading