18, May, 2024

महासमितिमा पेश गर्ने प्रस्तावमा गठबन्धनको छाया देखियो, परिमार्जन होस्: शेखर कोइराला

बागमती भ्वाइस
बागमती भ्वाइस
६ फाल्गुन २०८०, आईतवार १६:१४ | ३ महिना अगाडी

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले महासमिति बैठकमा पेश हुने प्रस्ताव परिमार्जन होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।

बिपी अध्ययन प्रतिष्ठान केन्द्रीय समितिले काठमाडौंको बत्तिसपुतलीमा आइतबार गरेको चियापान समारोहमा बोल्दै कोइरालाले महासमितिमा पेश गरिने प्रस्तावहरू एकीकृत रूपमा नआएको पनि बताए।

‘यसपालि केन्द्रीय समितिमा पेश भएको महासमितिमा पेश गरिने प्रस्तावहरू एकीकृत रूपमा आएन। परिमार्जन होस् भन्ने मेरो चाहना हो, मौलिकतामा आँच आउन हुँदैन,’ कोइरालाले भने।

कांग्रेस महासमिति बैठक सोमबारदेखि सुरू हुँदैछ।

यसपालिको महाधिवेशन कांग्रेसकै लागि अत्यन्तै चुनौतीका रूपमा आफूले देखेको उनले बताए।

‘पहिलेका महासमिति र यसपटककोमा केही अन्तर हामीले पाएका छौं,’ उनले भने, ‘मलाई के लागेको छ भने- कतै कांग्रेसले मौलिकता त गुमाएको होइन? यसमा मलाई चिन्ता लागेको छ।’

उनले महासमिति बैठकमा छलफलका लागि पेश गरिने प्रस्तावहरूमा गठबन्धनको छाया देखिएको पनि बताए। ‘गठबन्धनको छायाले हामीहरू ग्रसित भएका हौं कि भन्ने चिन्ता लागेको छ,’ कोइरालाले भने।

महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्रीद्वय गगन थापाले सांगठनिक र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तयार पारेका छन्। महामन्त्रीहरूका प्रस्तावका कतिपय कुरामा सभापति शेरबहादुर देउवा पनि परिमार्जन हुनुपर्नेमा छन्।

महासमिति बैठकको पूर्वसन्ध्यामा गरिएको चियापानमा सहमहामन्त्री भीष्मराज आङ्दम्बे, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायत पुगेका थिए।

६ फाल्गुन २०८०, आईतवार १६:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading