24, Jun, 2024

छठ घाटमा दुर्व्यवहार गरिएको भन्दै मेयर आक्रोशित, वडाध्यक्षलाई नगरपालिकामा निषेध गर्ने चेतावनी

बागमती भ्वाइस
बागमती भ्वाइस
४ मंसिर २०८०, सोमबार १५:४७ | ७ महिना अगाडी

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाएको हो ।

छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर ब्रतालुहरु र सर्वसधारणलाई जनप्रतिनिधिहरुले भेटघाट तथा शुभकामना आदान–प्रदान गर्छन् । मेयर साह र उपमेयर यादव पनि भेटघाट तथा शुभकामना आदान-प्रदान गर्नकै लागि धेरै छठ घाटहरु घुम्ने क्रममा वडा ८ मा विवाद भएको बुझिएको छ ।

मेयर साहले वडाध्यक्ष शिवप्रसन यादवकै निर्देशनमा आफूहरुलाई घाटमा निषेध गरेर दुर्व्यवहार गरेको बताइन् । पत्रकारहरुको जिज्ञासामा भनिन्, ‘म तपाईको घर जान्छु, अनि तपाईंको निर्देशन बिना कसैले दुर्व्यवहार गर्न सक्छन् ? सक्दैन नि । त्यहाँ वडाध्यक्षकै उक्साहटमा हामीलाई घाटमा जान दिएन । दुर्व्यवहार गर्यो ।’

वडा ८ स्थित २५/३० वटा पण्डाल लागेको थियो तर एउटा पण्डालमा मात्र निषेध गरी आफूहरुलाई दुर्व्यवहार गरेको उनले बताइन् । घाट सजावट तथा व्यवस्थापनका लागि बजेट नदिएको भन्दै यस्तो गरेको थाहा पाए– उनले सुनाइन् ।

‘विगतका वर्षहरुमा प्रत्येक वडामा छठ घाटका लागि डेढ लाखदेखि साढे ३ लाखसम्म खर्चिन्थ्यौं’, मेयर साहले भनिन्, ‘तर यस वर्ष वडाध्यक्षहरुले नै त्यसलाई फजूल खर्च भन्दै बजेट विनियोजन गर्न दिएनन् । अहिले म त्यतिधेरै रकम कसरी खर्च व्यहोर्छौं ? यसकै लागि घाटमा वडाध्यक्ष यादवले निषेध गरी दुर्व्यवहार गर्न लगायो ।’

मेयर साहले वडाध्यक्ष यादवलाई नगरपालिकामा प्रवेश गर्न नदिने बताइन् । उनले भनिन्, ‘हामीलाई निषेध गर्ने र हामी निषेध गर्न नहुने ? हामी पनि निषेध गर्छौं ।’ कार्यपालिका बैठकमा पनि रोक्नुहुन्छ भन्ने जिज्ञासामा उनले ‘हेर्दै जाउ के के हुन्छ’ भनेकी छन् ।

वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित भएका हुन् । उनले आफूले मेयर र उपमेयरलाई घाटमा निषेध गर्न नलगाएको दावी गरेका छन् । उनले भने, ‘घटना भएको बेला म घरमै थिए । जहां विवाद भयो, त्यहां मेरो छठघाट पनि छैन् ।’

मेयर साह आम जनता पार्टीका अध्यक्ष तथा संघीय सांसद प्रभु साहकी श्रीमती हुन् । निर्वाचित भएको पार्टी नेकपा एमाले त्यागेपछि उनको पद नै गुमेको थियो । केहिदिन अगाडी मात्र अदालतले निर्वाचन आयोगको निर्णय उल्टाएपछि उनी पुनः मेयरको जिम्मेवारीमा फर्केकी छन् ।

४ मंसिर २०८०, सोमबार १५:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading