24, Jun, 2024

नागरिक अगुवाको खबरदारी– शरणार्थी प्रकरणमा अनुसन्धानमा छुटेकामाथि यथाशीघ्र छानबिन होस्

Bagmati Voice
संवाददाता
११ जेष्ठ २०८०, बिहीबार ०९:१७ | १ साल अगाडी

काठमाडौ । काठमाडौ नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पदमाथि अनुसन्धान नै नगरी मुद्दा अघि बढाइएको भन्दै नागरिक अगुवाले खबरदारी गरेका छन्।

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्वन्यायाधीश बलराम केसी, निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी र संस्कृतिविद् त्रिरत्न मानन्धरले बिहीबार विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले विगतमा भएका अरू भ्रष्टाचार काण्डमाझैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको भन्दै ध्यानाकर्षण गराएको बताएका छन्।

‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिननमा नेपाल प्रहरीले सुरू गरेको अनुसन्धानले भ्रष्ट जोसुकै भए पनि उम्कन पाउँदैन भन्ने आम आशा पलाएको थियो । कुनै किसिमको दबाब वा मोलाहिजामा नपरी यो प्रकरणका सबै दोषीलाई छानबिन र अभियोजनमा ल्याइनेछन् भन्ने आम माग रहेको हो,’ उनीहरूले विज्ञप्तिमार्फत भनेका छन्, ‘अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याइ विगतका अरू भ्रष्टाचार काण्डमाझैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ।’

उनीहरूले प्रमाणबाट देखिएको वा देखिन सक्ने व्यक्तिलाई कठघरामा उभ्याउन सरकार नचुकोस् भनेर माग समेत गरेका छन्।

‘अन्यथा, आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनेछ,’ भनेर चेतावनी पनि दिएका छन्।

नक्कली शरणार्थी प्रकरणमा बुधबार ३० जनाविरूद्ध ठगी, संगठित अपराध, सरकारी लिखत कीर्ते, राज्यविरूद्धको अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ।

प्रकरणमा १६ जना पक्राउ परेका छन् भने १४ फरार छन्।

नागरिक अगुवाले आरोपितहरूले बयानका क्रममा पोलेकाहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका हुन्।

११ जेष्ठ २०८०, बिहीबार ०९:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading