
काठमाडौ । काठमाडौ मधेस प्रदेशमा नयाँ सत्ता समीकरण अनुसार मत्रिपरिषद् हेरफेर हुँदैछ। केन्द्रमा समीकरण बदलिएसँगै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन लागिएको हो।
दुई मन्त्रालय सहित संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमासरकारमा सामेल हुन लागेको कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले बताए। कांग्रेसबाट अहिले दुईजना मन्त्री बन्ने सिंहले बताए।
यादवले भौतिक पूर्वाधार विकासमन्त्री बन्दैछन्। त्यस्तै सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन्।
प्रदेश सभा सदस्य सिंहका अनुसार शपथ ग्रहणको कार्यक्रम दिउँसो १ बजेलाई तय भएको छ।
‘दुई दिनपछि अर्को चरणमा हाम्रो पार्टीको तर्फबाट थप मन्त्रीहरूले शपथ लिने छन्,’ प्रदेशसभा सदस्य सिंहले भने, ‘सभामुखलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने प्रक्रियामा गयौं भने, सभामुख सहित ३ मन्त्रालय हामी लिन्छौं। सभामुख हटेनन् भने चार मन्त्रालय र एक राज्यमन्त्री हामीलाई दिने निर्णय भएको छ।’
अहिले सभामुख नेकपा (एमाले)बाट छन्।
त्यसैगरी जनमत पार्टीको मन्त्रालय समेत हेरफेर गरिँदैछ। अहिले भूमि व्यवस्था कृषि तथा सहकारी र शिक्षा, विज्ञान, प्रविधि मन्त्रालय जनमत पार्टीलाई दिइएको छ ।
कृषि मन्त्रालय एकीकृत समाजवादीलाई दिने निर्णय भएको त्यो पार्टीकी प्रदेशसभा सदस्य बेची लुंगेलीले बताइन्। उनका अनुसार पार्टीका तर्फबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रूपमा आज सपथ लिँदैछन्।
यता मन्त्रालय हेरफेर गरिएकोबारे आफूहरूलाई कुनै जानकारी नआएको जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले बताए।
‘हिजो बसेको गठबन्धनको बैठकमा कुनै निष्कर्ष निस्किएन। आज फेरि बैठक बसेर मन्त्रालय टुंग्याउने कुरा थियो। तर अचानक हाम्रो मन्त्रालय हेरफेर गरिएको सुन्नमा आएको छ,’ उनले भने।
यी दुई दललाई सरकारमा सहभागी गराएलगतै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेत सरकारमा एउटा मन्त्रालय दिएर ल्याउने मुख्यमन्त्री सरोजकुमार यादवको तयारी छ।