04, Oct, 2023

चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाइ आवश्यक : प्रधानमन्त्री प्रचण्ड

बागमती भ्वाइस न्युजडेस्क
८ जेष्ठ २०८०, सोमबार १४:३७ | ४ महिना अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् ।

चिकित्सा शिक्षा आयोगको सोमबार भएको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताएका हुन् ।

उनले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिन निर्देशन दिए ।

‘कैयौं युवा डाक्टरहरुले लाखौं खर्च गरेर पढ्नुभएको छ । तर, ३० देखि ४० हजारको जागिर छ नेपालमा । अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भने ।

ऐनलाई राष्ट्रिय हितमा हुनेगरी अगाडि बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । देशमा रहेका विभिन्न समस्याको प्रतिबिम्ब नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको बताउँदै उनले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाइको आवश्यकता रहेकोसमेत औंल्याए ।

बैठकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बैठकमा चिकित्सा शिक्षाबारे सजीव छलफल भएको भन्दै खुशी व्यक्त गरे ।

बैठकमा आयोगका सदस्यहरुले राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार गर्नेबारे, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति निर्माणबारे आफ्नो धारणा राखेका थिए ।

८ जेष्ठ २०८०, सोमबार १४:३७ मा प्रकाशित