22, Sep, 2023

सिर्सिया नदीलाई प्रदुषणमुक्त गराउन फोहोर पानी बोकेर अभियान्ताहरु पदयात्रामा

बागमती भ्वाइस न्युजडेस्क
५ जेष्ठ २०८०, शुक्रबार ११:१२ | ४ महिना अगाडी

जनकपुरधाम । पर्साको वीरगञ्ज भएर बग्ने ऐतिहासिक सिर्सिया नदीलाई प्रदुषणमुक्त गराउन चुरे अभियान्ताहरु र स्थानीय काठमाडौं पुगेर आन्दोलन गर्ने भएका छन् ।

चुरे तथा वन जंगल संरक्षण अभियानको आयोजनामा चुरे अभियान्ता र स्थानीयगरी ३५ जनाले उक्त नदीलाई प्रदुषणमुक्त गराउन वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा सुरु गरेका हुन् । बिहिबार साँझ नदीबाट फोहोर (प्रदुषित) पानी बोकेर उनीहरु पैदल काठमाडौं हिडेका हुन् ।

पदयात्रामा १८ महिलासहित ३५ जना सहभागी रहेको र अहिले हामी अमलेखगञ्ज पुगिसकेको सामाजिक अभियान्ता सरोज रायले जानकारी दिए । नदीलाई प्रदुषणमुक्त गराउन पदयात्रा सुरु गरेको र काठमाडौं पुगेर माइतीघर मण्डलामा धर्ना बस्ने बताए । उनले भने– सरकारले माग पुरा नगरेसम्म धर्ना जारी राख्छौं ।

सिर्सिया नदीको प्रदुषणबाट लाखौं सर्वसधारणको जनजीवन र कृषिमा समेत प्रतिकुल असर परिरहे पनि सम्बन्धित निकायले सफाइमा चासो नदेखाएपछि बाध्य भएर आन्दोलनका लागि काठमाडौं हिडेको अभियन्ता रायको भनाई छ ।

उनले भने, ‘नदीको पानी अहिले फोहोर (प्रदुषण)ले विष बनिसकेको छ । पानीमा हात राखेपछि असर गर्छ । पशुहरु त्यो पानी खाएपछि मर्ने गर्छ । खेतमा सिँचाई गर्दा बाली नै सखाप हुन्छ ।’

‘नदी सफाईका लागि पटक पटक आन्दोलन भएको छ’, उनले भने, ‘तर आन्दोलन नै टिक्दैन । नदीमा प्रदुषणयुक्त पानी फाल्ने उद्योगीहरु सबैलाई प्रभावमा पार्छन् । नेताहरु समेत बोल्दैनन् । त्यसैले हामी बोल्ने आँट गरेर काठमाडौं लागेका छौं ।’

कसरी प्रदुषित बने सिर्सिया ?

बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ स्थित रामवन झाडीमा सिर्सिया नदीको मुहान छ । यो नदी बाह्रैमास बग्छ ।

स्थानीयका अनुसार नदीको मुहानमा अहिले पनि पानी हरियो र सफा देखिन्छ । तर, वीरगञ्ज नपुग्दै पानी कालो हुन्छ । वीरगञ्ज क्षेत्रमा नदीको पानी फोहोरको लेदो जस्तै भएको छ । यसरी प्रदुषित औद्योगिक प्रदूषणको चपेटामा परेर भएको छ ।

वीरगञ्ज–पथलैया करिडोरमा सञ्चालित सयौं उद्योग कलकारखानाले प्रदुषणयुक्त पानी सिधा नदीमा फाल्छ । विशेषगरी छाला, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्किने रसायन तथा विकारयुक्त फोहोर पानी नदीमा खसालिन्छ ।

सामाजिक अभियन्ता सरोज राय भन्छन्, ‘कुनै पनि उद्योगले प्रदुषित पानीलाई प्रशोधन गरी मात्र नदीमा फाल्न मिल्छ । तर यहाँ कानूनको कार्यान्वयण गराउने निकाय पनि मौन छ । त्यसैले आज सिर्सिया प्रदुषित बनेको छ । फोहोर पानी यति गन्हाउँछ कि त्यस क्षेत्रमा बस्ने अवस्था छैन ।’

५ जेष्ठ २०८०, शुक्रबार ११:१२ मा प्रकाशित