25, Sep, 2023

काठमाडौंमा एकसाथ दुई अपार्टमेन्ट बनाउँदै आरभी ग्रुप, अग्रिम बुकिङ गर्नेलाई १० प्रतिशतसम्म छुट

बागमती भ्वाइस न्युजडेस्क
३ जेष्ठ २०८०, बुधबार १७:०८ | ४ महिना अगाडी

काठमाडौ । काठमाडौंस्थित ज्ञानेश्वरमा आभ्रा भिलाज अपार्टमेन्ट बन्ने भएको छ। यो लक्जरी बुटिक अपार्टमेन्ट हो।

उक्त अपार्टमेन्ट तीन महिना अघिदेखि बनाउन सुरू गरिएको आरभी ग्रुपकी निर्देशक अनिशा अग्रवालले जानकारी दिइन्।

उनका अनुसार अहिले बेसमेन्ट बनाउने काम भइरहेको छ। निर्माण अघि नै कम्पनीले अपार्टमेन्टको बुकिङ खुलाएको छ।

अहिले बुकिङ गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म छुट पाउने अग्रवालले जानकारी दिइन्।

उनका अनुसार अपार्टमेन्ट बुकिङ गर्नेले ग्राहकले पहिलो चरणमा ३० प्रतिशत पैसा बुझाउनु पर्नेछ।

ग्राहकले वित्तीय व्यवस्थापन गर्न अन्यत्र बैंक धाउनु पर्दैन। कम्पनीले सानिमा बैंकसँग सम्झौता गरिदिने छ।

दुई रोपनी जग्गामा बन्ने यो अपार्टमेन्ट १२ तलाको हुनेछ। जसमा १८ युनिट छन्। ग्राहकले यो अपार्टमेन्टमा दुई हजार वर्गफिट र चार हजार वर्गफिट गरी दुइटा विकल्पका युनिट पाउँने छन्।

अग्रवालका अनुसार यो अपार्टमेन्ट डुप्लेक्स डिजाइनमा बनेको छ। यसमा चारवटा डुप्लेक्स भएकाले ग्राहकलाई झट्ट हेर्ने बित्तिकै बंगलोको अनुभूति हुनेछ।

दुई हजार वर्गफिटको फ्ल्याटमा तीनवटा बेडरूम छन्। जसमा तीनवटै बेडरूममा अट्याच बाथरूमको डिजाइन गरिएको छ। साथै, किचन, डायनिङ, लिभिङ रूम र गेष्ट रूम छन्।

त्यस्तै, ४ हजार वर्गफिटको फ्ल्याटमा ५ बेडरूमको डिजाइन गरिएको छ। सबै बेडरूममा अट्याच बाथरूम छन्। साथै, किचन, डायनिङ, लिभिङ र गेष्ट रूम छ।

‘गमलाहरू राख्न केही खुला ठाउँ पनि छन्,’ निर्देशक अग्रवालले भनिन्।

अमार्टमेन्टको बेसमेन्टमा पार्किङ सुविधा छ। इलेक्ट्रिक गाडीलाई मध्यनजर गरी कम्पनीले चार्जिङ पोर्ट पनि जडान गरिदिएको छ।

‘कुल क्षेत्रफल जमिनको ३५ प्रतिशत भागमा अपार्टमेन्ट बनेको छ,’ उनले भनिन्, ‘दुइटा गाडी हुँदा एउटा गाडी बाहिरै पार्किङ गर्न मिल्छ।’

अपार्टमेन्टमा बच्चालाई खेल्ने ठाउँ, सामुदायिक हल, स्विमिङ पुल, साउना स्टिम राखिएको छ। साथै, मन्दिर पनि निर्माण गर्ने कम्पनीले बताएको छ।

ग्राहकको सुरक्षाको लागि अपार्टमेन्टमा सुरक्षा गार्ड, सिसिटिभी क्यामरा जडान गरिएको छ।

अग्रवालका अुनसार दुई हजार वर्गफिट युनिटको साढे पाँच करोड रूपैयाँ छ भने चार वर्गफिट युनिटको ११ करोड रूपैयाँ तोकिएको छ।

सो मूल्यको युनिटको किचन, बाथरूम र खाली ठाउँमा टायल–मार्बल राखिएको हुन्छ। ग्राहकले अन्य फर्निचर जडान गर्न चाहे उक्त सुविधा पनि कम्पनीले दिने अग्रवाल बताउँछिन्।

‘ग्राहकले सेमी फर्निस र फुल फर्निस दुवै सुविधा पाउँछन्,’ उनले भनिन्, ‘फुल फर्निसको थप पैसा लाग्छ।’

कम्पनीले उक्त अपार्टमेन्टको निर्माण सम्पन्न गरी सन् २०२५ सेप्टेम्बरमा हस्तान्तरण गर्ने योजना बनाएको छ।

त्यस्तै, कम्पनीले कुपन्डोलमा पनि अपार्टमेन्टको परियोजना अघि सारेको छ।

कानदेवता थान नजिकै बन्ने उक्त अपार्टमेन्टको नाम सांग्रीला अपार्टमेन्ट रहने छ।

‘त्यहाँ तिहार पछि निर्माण सुरू गर्छौं,’ उनले भनिन्, ‘निर्माण गर्न आवश्यक अनुमति लगिसक्यौं।’

करिब तीन रोपनीमा क्षेत्रफलमा बन्ने यो अपार्टमेन्ट १४ तलाको हुनेछ। जसमा सात सय वर्गफिटदेखि ४ हजार वर्गफिटसम्मको ३६ युनिट रहनेछन्।

यस अपार्टमेन्ट निर्माणमा जग्गाबाहेक एक अर्ब रूपैयाँ लगानी हुने कम्पनीले अनुमान गरेको छ।

कम्पनीले सात सय वर्गफिट युनिटको एक करोड ८० लाख रूपैयाँ तोकेको छ। त्यसभन्दा माथिको क्षेत्रफलको युनिटको मूल्य भने कम्पनीले यकिन गरिसकेको छैन।

भुुइँतलामा स्विमिङ पुल, जिम, साउना स्टिम, सामुदायिक हल र पार्किङको सुविधा हुने कम्पनीले बताएको छ।

अहिलेको बजार मूल्यअुनसार अपार्टमेन्टको मूल्य निकै सस्तो भएको अग्रवाल बताउँछिन्।

पहिलेको तुलनामा अहिले अपार्टमेन्ट बनाउन धेरै महँगो छ।

‘उपभोक्ताहरू महँगो भयो भन्छन्। तर अहिले निर्माण लागत पनि बढेको छ’, उनले भनिन्।

उनका अनुसार यो मूल्यमा अपार्टमेन्ट दिँदा कम्पनीलाई कुनै पनि फाइदा छैन। आर्थिक मन्दीका कारण कम्पनीहरू सस्तोमा अपार्टमेन्ट बेच्न बाध्य छन्।

‘अपार्टमेन्ट बनाउन पनि जरूरी छ बेच्न पनि जरूरी छ। भुकम्पपछि नयाँ बन्न सकेको छैन,’ उनले भनिन्, ‘लामो समयपछि अपार्टमेन्टमा लगानी आउँदा पनि नाफा लिन सकिएको छैन।’

बजारमा तरलता अभावले गर्दा नाफा लिएर अपार्टमेन्ट बेच्न नसकिएको उनको भनाइ छ।

रियलस्टेट तथा आवास विकासको लागि सरकारले नीतिगत रूपमै सहजीकरण गर्न पर्ने उनी बताउँछिन्।

अपार्टमेन्ट बनाउन लिनुपर्ने अनुमतिका लागि सरकारले ‘वानडोर’ पोलिसी लिए यस्ता परियोजना अझै बढ्ने उनको भनाइ छ।

‘अपार्टमेन्ट बनाउन विभिन्न निकाय धाउन पर्छ। सबैतिर धाउँदा अनुमति पाउनै एक डेढ वर्ष जान्छ। त्यो समयमा जग्गाको ब्याज मात्रै तिरिरहेका हुन्छौं,’ उनले भनिन्।

३ जेष्ठ २०८०, बुधबार १७:०८ मा प्रकाशित