08, Sep, 2024

रंगकर्मी निशा शर्माले तीन दशकमा ३ पटक हेरेको फिल्म ‘पार’, हेर्नुस् युट्युबमा

Bagmati Voice
संवाददाता
१० असार २०७७, बुधबार १४:०५ | ४ साल अगाडी

रंगकर्मी निशा शर्माले भारतीय निर्देशक गौतम घोषको फिल्म ‘पार’ तीन पटक हेरेकी छन्। हरेक पटक हेर्दा उनलाई यो फिल्म पहिले हेरेको भन्दा बढी मन परेको छ।

उनी भन्छिन्, ‘कसैले पारलाई फाइभ स्टारमा कति दिनुहुन्छ भन्ने सोध्यो भने मेरो जवाफ हुनेछ– फाइभ स्टारभन्दा बढी।’

तीन दशकअघि पहिलो पटक ‘पार’ हेर्दा उनी आफूलाई कच्चा मान्थिन्। त्यस बेला उनलाई नसिरुद्दिन शाह, शबाना आजमी र अरू मुख्य कलाकारको अभिनयले बढी आकर्षित गरेको थियो।

दोस्रो पटक हेर्दा भने उनी उमेर र अनुभवले परिपक्व बनिसकेकी थिइन्। उनी भन्छिन्, ‘अभिनयसँगै मलाई फिल्मले उठाएका मुद्दा र विषयले बलियो गरी तान्यो।’
उनलाई त्यो बेला पार भारतीय समाजभित्रको जातीय विभेद र गरिबी चिहाउने ऐनाजस्तै लागेको रहेछ।

‘यसका पात्रहरूको दुःख र संघर्ष देखेर धन्न नेपालमा यो स्तरको विभेद र हिंसाका घटना हुँदैनन् भन्ने लागेको थियो,’ उनी भन्छिन्।

हालै तेस्रो पटक पार हेर्दा भने उनले रुकुममा नवराज विकसहित छ जनाको हत्या भएको घटना सम्झिइन्। उक्त घटनाको केन्द्र कारण अन्तर्जातीय विवाह थियो।

पार दलित समुदायमाथिको हिंसा र संघर्षलाई मार्मिक रूपमा चित्रण गर्ने अविष्मरणीय सिनेमा हो। यसबाहेक पारले दुई मुख्य पात्रको साथ, समर्पण र हौसलाको कथा पनि भन्छ।

फिल्मको आरम्भ बिहारको मुंगेर जिल्ला कोइरी ग्रामका हरिजनहरू र महाजनबीचको द्वन्द्वबाट सुरू हुन्छ। गाउँका महाजनले हरिजन किसानहरूलाई कानुनले तोकेभन्दा कम पारिश्रमिकमा काम गराउँदै आएका हुन्छन्।

तर किसानहरू क्रमशः संविधान र कानुनले प्रदान गरेअनुसारको अधिकार र आत्मसम्मानका लागि संगठित हुन थाल्छन्। महाजनका लागि यो टाउको दुखाइको विषय बन्छ। उनीहरू आफ्नो जातीय वर्चश्व कुनै हालतमा गुमाउन चाहँदैनन्।

यही सन्दर्भमा महाजनका भाइ हरिले किसानहरूलाई संगठित हुन प्रेरित गर्ने शिक्षकको हत्या गर्छन्। यो घटनाले भड्केका केही किसानले हरिको पनि हत्या गरेर बदला लिन्छन्।

तर यसको मूल्य सिंगो गाउँले चुकाउनु पर्छ। महाजनका मान्छेले मुसहर बस्तीमा आगो लगाइदिन्छन्। यो घटनामा नौ जना महिलासहित १६ जनाको मृत्यु र ३० जना घाइते हुन्छन्।

महाजनका भाइको हत्यामा संलग्न नौरंगिया (नसिरुद्दिन) भने आफ्नी श्रीमती रमा (शबाना आजमी) लाई लिएर रातारात भाग्न सफल हुन्छन्।

निशा भन्छिन्, ‘संविधान र कानुनमा तोकिएको अधिकार माग्दा समाजको एउटा तप्का आफ्नै जन्मथलो छोडेर विस्थापित हुनुपर्ने, जलेर मर्नुपर्ने कति कहालीलाग्दो शोषण!’

फिल्मको पहिलो खण्डमा यो दम्पत्तीको विस्थापन र दोस्रो खण्डमा उनीहरूले अपरिचित सहर कलकत्ता पुगेर भोगेका कठिनाइ देखाइएको छ। फिल्मको धेरै हिस्सा यी दुई पात्रको कलकत्ताको चरणले नै ओगटेको छ।

समाजमा विद्यमान विभेदले उत्पन्न संकटबाट बच्न नौरंगिया दम्पत्तीजस्तै धेरै मानिस विस्थापित हुन बाध्य छन्। यो कथा भारतीयजस्तै नेपालीसँग पनि मेल खाने उनी बताउँछिन्।

बाध्यताले गाउँ छोडेर विरानो सहर पुग्ने यो दम्पत्तीसँग पैसा, आफन्त र कामको अभावमा भड्किने दृश्यहरू निकै मार्मिक छन्। फिल्ममा एउटा यस्तो दृश्य आउँछ जहाँ पैसाका लागि भोको पेटमा उनीहरूले करिब तीन दर्जन सुँगुरलाई तारेर नदी पार लगाउनु पर्ने हुन्छ।

‘पार फिल्मको सबभन्दा शक्तिशाली दृश्य यही लाग्छ,’ निशा भन्छिन्। एउटा नदी पार गरेपछि फेरि अर्को नदी तर्नुपर्ने दृश्यले निशालाई गरिबको अविराम संघर्षलाई संकेत गरेजस्तै लाग्छ।

निशाले यो दृश्यका बारेमा नशिरुद्दिन र शबाना आजमीका वास्तविक अनुभव खोजीखोजी पढेकी छन्। संयोगवश उनले नसिरुद्दिन र शबाना आजमी नेपाल आएका बेला भेट्ने अवसर पाएकी थिइन्।

निशा आफैं नेपाली रंगमञ्चमा राम्रो अभिनयले धेरैको मन जित्न सफल कलाकार हुन्। नसिरुद्दिन र शबानासँगको भेटमा उनीहरूको अभिनयको तारिफ गरेको बताउँदै निशा भन्छिन्, ‘पार हेर्दा हरेक पटक नसिरुद्दिन र शबानाको अभिनयमा आफूले सिक्न बाँकी धेरै कुरा पाउँछुसन्।’

सन् १९७० र ८० दशकमा भारतमा बनेका धेरै यथार्थवादी धारका फिल्मले दलित र अल्पसंख्यकका मुद्दा सशक्त रुपमा उठाएका थिए। ‘पार’लाई तीमध्येको अब्बल सिनेमा मान्छिन् निशा।

‘पतङ्ग’, ‘पद्म नदिर माझी’ र ‘मोनेर मानुष’ जस्ता बहुचर्चित सिनेमाका निर्देशक गौतम घोषको पारले उत्कृष्ट अभिनेता र अभिनेत्रीतर्फ भारतीय राष्ट्रिय पुरस्कार जितेको थियो। यसको स्क्रिनप्लेका लागि फिल्म फेयर अवार्ड दिइएको थियो। यो फिल्मबाट नसिरुद्दिनले अन्तर्राष्ट्रिय रुपमा चर्चित भेनिस फिल्म फेस्टिभलमा ‘भोल्पी कप बेस्ट एक्टर अवार्ड’ पनि जितेका थिए।

नाटक खेल्ने क्रममा विभिन्न सामाजिक विषयमा समेत काम गरेकी निशा सबै खालको सामाजिक विभेदविरुद्ध कलाकारको भूमिका हुने मत राख्छिन्। उनको अनुभवमा फिल्म वा रंगमञ्चजस्तो श्रव्य-दृश्य विधा अझ प्रभावकारी हुन्छ।

उनी भन्छिन्, ‘पढेको वा अरुले भनेर सुनेको कुरा भन्दा हेरेको कुराको प्रभाव बलियो हुन्छ।’

कानुनमा जातीय विभेद नभए पनि समाजमा छ भन्ने कुरा पारले छर्लंग देखाएको छ।

मान्छे र समुदायमाथिको विभेदको कथा भन्ने ३६ वर्षअघि बनेको पार ‘आउट-डेटेड’ हुनुपर्ने हो। तर भारत होस् वा नेपालमा, यो आज पनि सान्दर्भिक हुनु विडम्बना हो।

‘एउटा मान्छे ठूलो जात र अर्को सानो जात कसरी,’ उनी प्रश्न गर्छिन्, ‘कहिलेसम्म?’

१० असार २०७७, बुधबार १४:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading