वि.सं.२०८१ फागुन ३ शनिवार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको हातपात न्यायालयमाथिको आक्रमण : नेविसंघ

काठमाडौं । नेपाल विद्यार्थी संघले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरिएको हातपातलाई न्यायालय माथिको आक्रमण भएको ठहर गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले त्रिपाठीमाथि बुधबार काठमाडौं जिल्ला अदालतको परिसरमा हातपात गरेका थिए ।

सहकारी पीडितका वकिलमाथि रास्वपा कार्यकर्ताको आक्रमण प्रयास

संविधानले प्रत्येक नागरिकलाई आफ्नो कानुन व्यवसायी रोज्ने अधिकार मौलिक हकका रूपमा स्थापित गरेको भन्दै नेविसंघले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

आक्रमण संविधान, लोकतन्त्र, विधिको शासन र कानुनी राज्यमाथिको गम्भीर प्रहार भएको नेविसंघद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘न्यायिक प्रक्रियालाई अवरोध गर्ने, डर, त्रास र भ्रम सिर्जना गर्ने तथा पीडितले पाउनुपर्ने न्याय प्राप्तिमा बाधा पुर्‍याउने परिस्थिति निर्माण गरेको स्पष्ट देखिन्छ, तसर्थ वरिष्ठ अधिवक्तामाथिको आक्रमण न्यायालयमाथिको आक्रमण हो,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका प्रति नेपालको संविधान दृढ छ र हामी पनि यसको सुरक्षाको प्रत्याभूति हुनुपर्ने विषयमा प्रष्ट छौं ।’

यस अघि बुधबार नेपाली कांग्रेसले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको थियो ।

Untitled