वि.सं.२०८१ माघ ५ शनिवार

सडक विस्तारका नयाँ आयोजनामा पुराना गल्ती सच्याइँदै, एकै पटक भत्काउन नपाइने

काठमाडौं । सडक विस्तार र स्तरोन्नति क्रममा लामो समय लाग्ने र त्यसले आमयात्रुको आवतजावत कष्टकर बन्दै गएपछि सरकारले नयाँ आयोजनामा गल्ती सच्याउने भएको छ ।

अब लाग्ने हरेक ठेक्कामा एकै पटक सडक भत्काउन नपाइने गरी गल्ती सच्याइने भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले बुटवल–गोरुसिङ्गे सडकबाटै यस्तो गल्ती सच्याइने बताए । ‘विगतमा सडक विस्तारका क्रममा एकै पटक सबै भत्काउने र त्यसको निर्माणमा ढिलाइ हुँदा धेरै नै सास्ती भोग्नुपर्‍यो,’ उनले भने, ‘अब यो गल्ती नहुने गरी सडक निर्माण र विस्तार हुनेछ ।’

मन्त्रालयका अनुसार अब सडक विस्तार क्रममा नियमित सञ्चालन हुने सवारीसाधन आवतजावतमा कम असर पर्ने गरी निर्माणको काम गरिने छ । त्यस अन्तर्गत क्रसिङ, कल्भर्ट, पुल र सर्भिस लेनको काम चालु रहेसम्म बीचको मूल सडक भत्काइने छैन ।

मुल सडक भत्काउँदा समेत पहिलो दुई लेनको काम सम्पन्न भएपछि मात्र दोस्रो दुई लेन भत्काएर निर्माण गरिने सचिव शर्माले जानकारी दिए ।

सडक विस्तार क्रममा सबैभन्दा धेरै सास्ती यात्रुले बुटवल–नारायणघाट सडकमा आएका छन् । सरकारले यस आयोजनामा बढी गालीसमेत पाएको छ । निर्माण व्यवसायीले सम्झौता अनुसार काम नगरेपछि त्यसको मारमा विकासे आयोजना परेका छन् ।

बुटवल-नारायणगढ सडक/फाइल तस्वीर

सचिव शर्माका अनुसार आगामी निर्माण र विस्तार क्रममा रहेका सबै आयोजनामा सोही अनुसार ठेक्का सम्झौता गरिएको छ । ‘कतिपय कुरा विगतका अभ्यासबाट पनि पाठ सिक्नुपर्ने हुन्छ,’ उनले भने, ‘निर्माण सुरु नहुँदा जथाभावी सडक भत्काउन अब दिँदैनौं ।’

सडक विस्तार गर्दा एक छेउबाट काम सुरु गर्ने र अर्को छेउसम्म पुग्दा वर्षौं लाग्ने समस्या रहेको भन्दै मन्त्रालयले अब दुवै छेउबाट काम थाल्ने समेत जनाएको छ ।

यसका साथै निश्चित किलोमिटरमा मात्र काम थालेर त्यो सम्पन्न भएपछि थप सडकमा काम थाल्ने गरी आयोजना अगाडि बढाउने मन्त्रालयको तयारी छ ।

सडक विस्तार क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत अरुणखोला क्षेत्रमा भत्काइएको सडकको अवस्था/फाइल तस्वीर

उता, बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालयले समेत सडक विस्तार क्रममा पूर्वतयारीका काम सम्पन्न गरेपछि मात्र सडक भत्काउने तयारी गरेको छ ।

सडक विस्तार थाल्नु अगाडिका काम सम्पन्न गर्न केही समय लाग्ने र त्यसपछि मात्र खन्ने काम थालिने आयोजनाले जनाएको छ । पूर्वतयारी अन्तर्गत निर्माण सामग्री साइटमा लैजाने, सडक क्षेत्राधिकारमा रहेका संरचना हटाउने, रुख कटान, पुल र अन्डरपास निर्माण गर्न माटो परीक्षण जस्ता काम हुनेछन् ।

पूर्व–पश्चिम राजमार्ग बढी सवारीसाधन गुड्ने नेपालको ‘लाइफलाइन’ राजमार्ग हो । उक्त राजमार्ग अहिले विभिन्न खण्डमा बाँडेर चार लेनमा विस्तार गर्ने काम भइरहेको छ ।

बुटवल–नारायणगढ सडक/फाइल तस्वीर

बुटवल–नारायणघाट सडक आयोजनामा ठेकेदार फकाउँदै सरकार

सडक विस्तार गर्न आलोचित बनेको बुटवल–मुग्लिन सडक खण्डमा भने पटक–पटक चेतावनी दिँदासमेत निर्माण कम्पनीले अपेक्षित प्रगति देखाउन सकेको छैन ।

यसबाहेक यही निर्माण व्यवसायीबाटै यो आयोजना सम्पन्न गराउने सरकारको लक्ष्य छ । ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा मुद्दा मामिला हुने, प्रक्रिया लम्बिने र आयोजना थप संकटमा पर्ने भन्दै मन्त्रालयका उच्च अधिकारीहरू सकेसम्म ठेकेदारलाई ‘मनाएरै’ आयोजना सक्ने लक्ष्यमा छन् ।

‘फकाएर, धम्क्याएर वा के गरी हुन्छ, यसै कम्पनीबाट काम गराउने हाम्रो चाहना हो,’ पत्रकारहरूसँगको एक अन्तक्र्रियामा मन्त्रालयका सचिव शर्माले भने, ‘ठेक्का तोडेर जाँदा नयाँ प्रक्रियामा जानुपर्छ, त्यो थप झन्झटिलो हुन्छ ।’