कैलाली । २०७४ को स्थानीय तहको निर्वाचनमा कैलाली गाउँपालिकाको दलित महिला सदस्य पदमा पराजित भएकी टीकाकुमारी चौधरी भुल जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्वाचित भएकी छन् ।
पाँच वर्ष पराजित भएकै पदमा २०७९ को निर्वाचनमा लड्दै, जित्दै जित्दै जिल्ला समन्वयन समिति प्रमुखको जिम्मेवारीसम्म पुगेकी हुन् ।
काङ्ग्रेसबाट जिसस कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन भएको हो । नागरिक उन्मुक्ति पार्टीकी रुपमती डँगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि भुल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् । आज उनले निर्वाचित भएको प्रमाण पत्र बुझ्दै शपथ पनि लिएकी छिन् ।
प्रमुख निर्वाचन अधिकृत समेत रहेका कैलाली जिल्ला अदालतका न्यायाधीश डण्डापाणी लामिछानेले जिसस प्रमुख भुललाई आज शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा जिसस कैलालीका पदाधिकारी, कैलाली गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलगायतको उपस्थिति रहेको थियो ।
कक्षा ८ मा पढ्दै गर्दा आर्थिक अवस्था कमजोर भएकाले पढाइ छाडेकी उनलाई गाउँकै शिक्षक शेषराज न्यौपानेले विद्यालयमा नाम लेखाएर पढ्न पुन पढ्ने हौसला दिएका थिए । शिक्षक न्यौपानेकै हौसलाबाट उनले एसएलसी पास गर्दै प्लसटुसम्म अध्ययन गरिन।
थारु समुदायकी उनले दलित समुदायका दयाशंकर भुलसँग विवाह गरिन् । उनका श्रीमान् दयाशंकर सोलुखुम्बुमा शिक्षण पेसामा छन्। राजनीतिमा आफूलाई आफन्तसँगै पतिले पनि सहयोग गरेको उनी बताउँछिन् ।