सुर्खेत । कालीकोटको पलाँता गाउँपालिका–३, मा गत २६ कात्तिकमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो । १३ जना गम्भीर घाइते भए ।
दुई वर्षअघि ट्रयाक खुलेको सडकमा खिनबाट पलाँता जाँदै गरेको जिप उकालो चढ्न नसक्दा सडकबाट ५०० मिटर तल खसेको थियो ।प्रहरीका अनुसार कर्णाली १ ज ५६ नम्बरको ६ जना यात्रुको सिट भएको जिपमा चालकसहित २० जना थिए ।
२३ कात्तिकमा दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्ला नजिकै दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो, २५ जना घाइते भए । १५ सिटको उक्त गाडीमा ३४ जना सवार रहेको प्रहरीको भनाइ छ ।
गाडीमा क्षमता भन्दा बढी यात्रु चढाउँदा पनि प्रहरीले नरोकेको भन्दै मृतक र घाइतेका आफन्तले प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरे । उनीहरूले ‘यो दुर्घटना हैन, हत्या हो’ भन्दै प्रशासनको विरोध गरे ।
जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको जिप २६ कात्तिकमा भेरी नगरपालिका–१३, स्थित कुदु नजिक दुर्घटना हुँदा २५ जना घाइते भए । केही गम्भीर घाइतेहरु अहिले पनि प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका छन् ।
१९ जना सिट क्षमताको उक्त गाडीमा ३२ जना सवार थिए । ओभरलोडकै कारण दुर्घटना भएको गाडी सडकदेखि २५/३० मिटर तल खसेको थियो ।
सडक यातायातमा भर्खर पहुँच बढाइरहेको कर्णालीमा पछिल्लो समय लगातार ठूला दुर्घटना भइरहेको छ ।
रुकुमपश्चिमको आठबिसकोटमा भएको बस दुर्घटन
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार एक सातामा मात्रै कर्णालीमा १८ वटा गाडी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन् । दुर्घटनाका घाइतेले सुर्खेतस्थित प्रदेश अस्पतालका अधिकांश बेड भरिएका छन् ।
गत साउनदेखि असोज मसान्तसम्मको तीन महिनामा कर्णालीमा ३४४ वटा गाडी दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७४३ जना घाइते भएका कर्णाली प्रदेश प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । धेरै दुर्घटना दशैं–तिहारको समयमा भएको छ ।
डीएसपी डाँगीका अनुसार २०७८ सालमा प्रदेशमा ४१५ दुर्घटनामा १८० जनाको मृत्यु भएको थियो भने एक हजार १० जना घाइते भए । २०७९ मा ५४९ दुर्घटनामा १३१ जनाको मृत्यु भएको थियो भने एक हजार ९३ जना घाइते भए ।
२०८० सालमा एक हजार ८६ दुर्घटना हुँदा ११२ जनाको मृत्यु भएको थियो भने दुई हजार ७७ जना घाइते भएको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ । कर्णालीमा पछिल्लो पाँच वर्षमा ६६६ जनाको सडक दुर्घटनामा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कर्णालीमा बर्सेनि दुर्घटना बढे पनि न्युनीकरणको पहल हुन नसकेको सडक सुरक्षा विज्ञ ध्रुवराज पाण्डेले बताए । ‘सबै क्षेत्रको चरम लापरबाही देखिन्छ । जसले गर्दा दुर्घटना बढिरहेको छ’, उनले भने ।
किन हुन्छ दुर्घटना ?
कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार २६ कात्तिकमा पलाँतामा क्षमता भन्दा बढी यात्रु बोकेका कारण जिप दुर्घटना भएको देखिन्छ ।
‘गाउँमा अन्य सवारीसाधन चल्दैनन्, एउटै गाडी चल्ने भएकाले सबैले सेवा लिन खोज्दा ठूलो दुर्घटना भएको देखिन्छ’, उनले भने । दुर्गम गाउँ भएकाले प्रहरी पनि नपुगेको र क्षमता भन्दा बढी यात्रु बोक्ने लापरबाही देखिएको प्रजिअ भट्टराईले बताए ।
सुर्खेतको रातानाङ्लामा २३ कात्तिकमा भएको दुर्घटनामा पनि क्षमता भन्दा बढी यात्रु बोकेको देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए । ‘१५ सिटको फोर्स गाडीले ३४ जना बोकेको रहेछ, ओरालोमा झर्दा गाडी अनियन्त्रित भएको देखिन्छ’, उनले भने ।
कर्णालीका अधिकांश सडक दुर्घटना ओभर लोड, साँघुरो बाटो र तीव्र गतिका कारण हुने गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।
‘नियामक निकाय, यातायात व्यवसायी र यात्रु पनि जिम्मेवार बन्नुपर्छ । यात्रु पनि मुढामा बसेर काठमाडौं जान तयार हुनुभएन’, उनले भने ।
सल्यानमा भएको बस दुर्घटना
कर्णालीका पहाडी भेगमा गाडी चलाउनेहरु कम उमेरका छन् । उनीहरुले उमेर पुगेपछि सवारी चालक अनुमति पत्र त पाए पनि अरु परिपक्वता नदेखिएको डीएसपी डाँगी बताउँछन् ।
‘१५ वर्षको उमेरमा गाडीमा सहचालकको काम गर्ने, भर्खर सिकेको बेला सवारी चलाउन थाल्ने जस्ता समस्या पनि देखिएको छ’, उनले भने ।
कर्णालीमा दुर्घटनाको अर्को कारण यातायात व्यवसायीले गर्ने प्रतिस्पर्धा रहेको यातायात व्यवसायी चन्द्र भारती बताउँछन् । यात्रु खोस्ने प्रतिस्पर्धाका कारण चालकले गाडीको क्षमता र सडकको अवस्था बेवास्ता गरेको उनको भनाइ छ ।
‘चाडबाडका बेला स्वाभाविक रूपमा यात्रु बढी हुन्छन्, त्यसैमाथि यातायात व्यवसायीमा कसरी आफूले धेरै यात्रु बोक्ने र चाँडो पुग्ने प्रतिस्पर्धा देखिन्छ’, उनले भने ।
प्रहरी–प्रशासनले सवारीमा कडाइ नगर्दा दुर्घटना बढेको वीरेन्द्रनगर नगरपालिका-८, का मदन तिवारी बताउँछन् । ‘गाडी कति वर्षदेखि चलिरहेको छ । कति सिट क्षमताको हो, कति यात्रु राख्ने अनुमति लिएको छ, कति सवार छन् भन्ने कुरामा कडाइ गर्नुपर्ने देखिन्छ’, उनी भन्छन्, ‘प्रहरी प्रशासन यीनै कुराहरूमा चुकेको देखिन्छ ।’ दुर्गमका कच्ची सडकमा मात्र नभई राजमार्गमै झन् धेरै दुर्घटना भइरहेको उनले बताए ।
प्रदेश प्रहरी प्रवक्ता डाँगी भने चालकले धेरै यात्रु भएका बेला प्रहरीलाई झुक्याउने गरेको बताउँछन् । ‘चेकपोस्टमा गाडी इन्ट्री गराउँदा कम संख्या देखाएर ढाँट्ने, चेकपोस्ट नजिक यात्रु झारेर हिडाउने गरेको पाइन्छ’, उनले भने, ‘हामीले सडक सुरक्षा अभियान चलाएका छौं, नाकामा कडाइ गरेका छौं । तर पनि दुर्घटना रोक्न सकेका छैनौँ ।’
सडक सुरक्षाविज्ञ ध्रुवराज पाण्डे भने अधिकांश सवारी दुर्घटनामा मुख्य कमजोरी चालकको देखिएको बताउँछन् । ‘पहिले चालक त्यसपछि यान्त्रिक गडबडी र सडकको अवस्था दुर्घटनाप्रति जिम्मेवार देखिन्छन्’ उनी भन्छन्, ‘सडकको अवस्था, खाल्डाखुल्डी र मौसमलाई हेरेर गति निर्धारण गर्नुपर्नेमा चालकले सधैँ एकैनासले गाडी कुदाएको देखिन्छ ।’
कर्णाली प्रदेशका ९ वटा जिल्ला मात्र अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । ती जिल्लाका सदरमुकाम जोड्ने मुख्य सडक मार्ग नै मापदण्ड पूरा भएका छैनन् ।
ग्रामीण क्षेत्रमा हुने दुर्घटनामा पूर्वाधार प्रमुख कारण देखिने गरेको उनको भनाइ छ । ‘डोजरले सामान्य खोस्रिएकै भरमा सवारी साधन चल्छन्, जीर्ण बाटोमा ओभर लोड हुँदा गाडीले तान्नै सक्दैन’ उनले भने, ‘पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी पुराना र थोत्रा हुन्छन् । सहरमा चलाउन नदिएपछि पहाडी गाउँतिर लिइन्छ ।’
भएन प्रभावकारी जाँच
२३ कात्तिकमा सुर्खेतको रातानाङ्लामा दुर्घटना भएको गाडी दैलेख बजारबाट छुटेदेखि दुर्घटना भएको स्थानसम्म चारवटा प्रहरी चेकपोस्ट पार गरेर आएको थियो ।
२६ कात्तिकमा दुर्घटना भएको नेपालगञ्जबाट जाजरकोट गएको जिप पनि ८ वटा चेकपोस्ट कटेपछि दुर्घटनामा परेको थियो ।
यसरी गाडीले चेकपोस्ट छल्ने वा चेकपोस्टमा बस्ने प्रहरीले छोडिदिने गर्नाले ‘ओभरलोड’ सवारी दुर्घटनाको प्रमुख कारण बन्ने गरेको देखिन्छ ।
प्रदेश प्रहरी प्रवक्ता डाँगीको अनुभवमा सडकमा प्रहरी उभिएको देख्दा मात्र नियम पालना गर्ने प्रवृत्ति छ ।
‘पहाडी क्षेत्रमा जाने गाडीको ठाउँ ठाउँमा जाँच हुन्छ’, उनी भन्छन्, ‘क्षमताभन्दा बढी यात्रु भए, सवारीधनीले चेकपोस्ट छल्ने गर्छन् । पोस्ट आउँदा झार्ने र अलि पर गएपछि पुनः चढाउने गरेको पाइन्छ ।’
जाजरकोटमा भएको दुर्घटनामा पनि त्यहाँको प्रहरी चौकीमा २१ जना यात्रुको इन्ट्री भएको देखिन्छ । तर दुर्घटना हुँदा जिपमा ३८ जना सवार रहेको भेटिएको थियो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डाँगी भन्छन्, ‘यस्तो रोक्न प्रहरीसँगै यातायात व्यवसायी, यात्रु सबै सचेत हुनु आवश्यक छ ।’
चालकहरू भने ग्रामीण क्षेत्रमा थोरै गाडी चल्ने हुनाले सिट भन्दा धेरै यात्रु बोक्नु बाध्यता भएको बताउँछन् । ‘कतिपय ठाउँमा त दिनमा एक पटक एउटा गाडी मात्र चल्छ’, कालीकोटमा गाडी चलाउँदै आइरहेका चालक मदन विक भन्छन्, ‘गाउँ ठाउँमा सिट छैन, अटाउँदैन भन्नै पाइँदैन ।’
ग्रामीण सडकमा ठूला गाडी नचल्ने र साना साधनमा धेरै यात्रु नअटाउने बाध्यता रहेको उनको भनाइ छ ।
कर्णाली प्रदेशका ९ वटा जिल्ला मात्र अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । ती जिल्लाका सदरमुकाम जोड्ने मुख्य सडक मार्ग नै मापदण्ड पूरा भएका छैनन् । त्यसैले सिटभरि यात्रु बोक्दा पनि दुर्घटनाको जोखिम हुने चालकहरु बताउँछन् ।
सडक सुरक्षाविज्ञ पाण्डेका अनुसार, दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता मात्रै पर्याप्त छैन, यातायात व्यवस्था विभाग र सडक विभाग पनि जागरूक हुनुपर्छ ।
‘प्रदेश सरकार र स्थानीय निकाय सबैको उत्तिकै सक्रियता चाहिन्छ । तर अन्तर निकाय समन्वय भएको देखिदैन’, उनी भन्छन् ।