वि.सं.२०८१ माघ ११ शुक्रवार

एकीकृत समाजवादीले फिर्ता लियो पुथा उत्तरगंगाको उपाध्यक्ष उम्मेदवारी, माओवादीलाई सघाउने

काठमाडौ । काठमाडौ नेकपा (एकीकृत समाजवादी)ले रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएको छ।

बुधबार माओवादी केन्द्र र एकीकृत समाजवादीको जिल्ला कमिटीबीच पाँच बुँदे सहमतिपछि एकीकृत समाजवादीले आफ्नो उम्मेदवारी फिर्ता गरेर माओवादी केन्द्रका नरपुरा बुढालाई समर्थन गर्ने निर्णय गरेको हो।

बुधबार माओवादी केन्द्रको पूर्वी रूकुम संयोजक कुमारी बराल र एकीकृत समाजवादीको इन्चार्ज भीउमान घर्तीले संयुक्त विज्ञप्ति जारी गर्दै सहकार्यको सहमति भएको जानकारी दिँदै निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्न आफ्ना मतदाताहरूलाई आह्वान गरेका छन्।

पाँच सहमतिबारे भने विज्ञप्तिमा खुलाइएको छैन।

पुथा उत्तरगंगामा कांग्रेसको चुनाव चिह्न लिएर एमालेकी नेता केशकुमारी तुलाचन उपाध्यक्षमा उम्मेदवार बनेकी छन्।

तुलाचन एमाले रूकुमपूर्व कमिटीकी उपसचिव हुन्। एमालेकी नेतालाई चुनाव आफ्नो चिह्न (रूख) लिने सर्तमा कांग्रेसले पनि साझा उम्मेदवार बनाएको हो।

कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (बिक) स्वतन्त्र उम्मेदवार छन्।

नेकपा माओवादी केन्द्रले यसअघि स्थानीय तह उपनिर्वाचनमा एक्लै लड्ने, कसैसँग गठबन्धन गर्ने बताउँदै आएको थियो।

कीर्तिपुर नगरपालिकामा त सत्तामै रहेको जनता समाजवादी पार्टीसँग तालमेल गरेको छ।

कीर्तिपुरमा माओवादी मेयर र वडा-४ को अध्यक्ष उम्मेदवारलाई जनता समाजवादीले र वडा-१ को अध्यक्षमा जसपाका तर्फबाट प्रस्तुत उम्मेदवारलाई माओवादीका तर्फबाट साझा उम्मेदवारमा प्रस्तुत गर्ने भएको छ।