05, Dec, 2024

खाद्य कम्पनीले साढे दुई अर्बको धान खरिद गर्दै, किसानले पाउलान् तोकिएको मूल्य ?

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ कार्तिक २०८१, शुक्रबार ०९:४६ | ३ हफ्ता अगाडी

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष साढे दुई अर्बभन्दा बढीको धान खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको धानको समर्थन मूल्यमा देशभरबाट उक्त रकम बराबर ७ लाख ३० हजार क्विन्टल (७३ हजार ६ सय २० मेट्रिक टन) धान खरिद गर्ने भएको हो । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले भनिन्, ‘महेन्द्रनगर, धनगढी, नेपालगन्ज, राजापुर, तुल्सीपुर लगायत स्थानबाट धान खरिद सुरु भइसकेको छ । पश्चिमबाट क्रमिक रूपमा पूर्वतिर धान खरिद गर्दै जान्छौँ ।’

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गर्ने कम्पनीले जनाएको छ । यस आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १०.५१ रुपैयाँ निर्धारण गरेको छ । यस्तै, मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५ सय ८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । सो मूल्यमा धान खरिद गर्ने सुवेदीले जानकारी गराइन् । ‘मोटा र मध्यम धानको हकमा सरकारले निर्धारण गरेको मूल्य नै दिइने हो,’ उनले थपिन्, ‘मसिनो तथा रैथाने धानको लागि प्राथमिक खरिद समितिले मूल्य निर्धारण गर्छ । सिडियोको संयोजकत्वमा प्रत्येक जिल्लामा समिति हुन्छ । कृषि कार्यालयको प्रतिनिधित्व पनि रहन्छन् । त्यो समितिले जुन रेट निर्धारण गर्छ, त्यो रेटमा हामीले धान खरिद गर्छौँ ।’

सरकारले पछिल्लो समय धानको समर्थन मूल्य समयमा निर्धारण गरेर किसानले धानको मूल्य पाएको सरोकारवालाले दाबी गर्दै आएका छन् । प्रधानमन्त्री कृषि परियोजना कैलालीका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत गोविन्दराज जोशीले विगत दुई वर्षयता किसानले धानको मूल्य पाएको बताए । खाद्य कम्पनीले धान खरिद गर्दा यो वर्ष पनि किसानले धानको राम्रो मूल्य पाउने दाबी गरे । ‘सरकारले समयमा नै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ,’ उनले भने, ‘विगत दुई–तीन वर्षदेखि धानको मूल्य किसानले पाइरहेका छन्, खाद्यले पनि धान खरिद गर्दा किसानलाई केही राहत हुनेछ । ’

कैलाली, कञ्चानपुरको किसानले तीन हजारदेखि ३२ सय प्रतिक्विटलको दरमा खेतबाटै धान बेचेको जोशीले बताए ।

सरकारले मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १०.५१ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५ सय ८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरे पनि स्थानीय व्यापारीले भने तीन हजार देखि ३२ सय रुपैयाँ प्रतिक्विन्टलमा धान खरिद गरिरहेका छन् । दसैँ अगावै ३ हजार रुपैयाँ प्रतिक्विन्टलका दरले धान बिक्री गरेको कैलालीका किसान खुसीराम चौधरी बताउँछन् । ‘मैले २ क्विन्टल धान दसँै मान्नका लागि बेचेको थिए, एक क्विन्टल धान ३ हजार रुपैयाँका दरले बेचेको थिएँ,’ उनले भने, ‘अहिले बढेर ३२ सय पुगेको छ, धान हेरी मूल्य फरक छ । ३ हजार देखि ३२ सय रुपैयाँसम्म पाइएको छ ।’

देशभर अहिले धान बाली भित्र्याउने चटारो छ । छिटो रोपाइँ गरिएका क्षेत्रका किसानले धान बाली भित्र्याइसकेका छन् भने अन्य क्षेत्रका किसानले धान बाली भित्र्याउँदै छन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटो रोपाइँ हुने भएकाले यहाँका किसानले धान बाली लगभग भित्र्याइसकेका छन् । बागमती, कर्णाली, मधेस, कोशी र गण्डकी प्रदेशका किसानले धान बाली भित्र्याउने क्रममा छन् ।

खाद्यको प्राथमिकतामा किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको उत्पादनलाई प्राथमिकता दिएको दाबी गरेको छ । किसानको धान खरिद गर्नकै लागि वडाबाट सिफारिसको आधारमा धान खरिद गर्ने सूचना अधिकारी सुवेदी बताउँछिन् । ‘हाम्रो प्राथमिकता भनेको उत्पादक किसान नै हो,’ उनले भनिन्, ‘वडाबाटै धान खरिदका लागि सिफारिस गर्न सूचना जारी गरेका हुन्छौँ । वडालाई थाहा हुन्छ को किसान हो वा होइन भनेर, सिफारिसको आधारमा धान खरिद गर्ने हो ।’ देशभरबाट ७३ मेट्रिक टन धान खरिद गर्न पालिकाबाट सहयोग माग गरेको उनले सुनाइन् ।

प्रधानमन्त्री कृषि परियोजना कैलालीका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत गोविन्दराज जोशीले खाद्यले राम्रो धान खरिद गर्ने भएकाले किसानको धान मात्रै खरिद गर्ने बताए । स्थानीय व्यापारीले किसानबाट धान खरिद गर्दा विभिन्न धान मिसावट हुने भएकाले किसानको उत्पादन सिधै खरिद गर्ने उनले सुनाए ।

गत वर्षभन्दा बढी धान खरिद गर्ने लक्ष्य

खाद्यले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा बढी धान खरिद गर्ने लक्ष्य राखेको छ । कम्पनीले गत वर्षको तुलनामा २ लाख ३० हजार क्विन्टल बढी धान खरिद गर्ने लक्ष्य राखेको हो । गत वर्ष ५ लाख क्विन्टल धान खरिद गरेको कम्पनीले यो वर्ष ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ ।

खाद्यले गत वर्ष ५ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । तर ४६ हजार ६ सय १५ क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो । नेपाल सरकारले निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्य पाएर किसानले सरकारीभन्दा निजी क्षेत्रको धान खरिद गर्नेलाई बेचेकाले लक्ष्य प्राप्ति हुन नसकेको कम्पनीले जनाएको थियो । यो वर्ष पनि खाद्यले सरकारले तोकेको मूल्यमा धान खरिद गरिरहेको छ । तर सरकारले तोकेकोभन्दा बढी मूल्य निजी क्षेत्रले दियो भने स्वाभाविक रूपमा किसानले व्यवसायीलाई धान बेच्छन् । खाद्य कम्पनीका अधिकृत देवेन्द्र राई यो वर्ष खाद्यले लक्ष्य लिइएको धान जसरी पनि खरिद गर्ने बताउँछन् । उनी भन्छन्, ‘केही गरी सरकारले तोकेकोभन्दा बढी मूल्यमा निजीले खरिद गरे भने हामी पनि बोर्डको बैठक बसेर नयाँ निर्णय गरेर अगाडि बढ्न सक्छौँ ।’

सरकारले गत आर्थिक वर्षका लागि मोटा धान तीन हजार एक सय ९८ रुपैयाँ प्रतिक्विन्टल र मध्यम खाले धान तीन हजार तीन सय ६२ रुपैयाँ प्रतिक्विन्टल समर्थन मूल्य निर्धारण गरेको थियो ।

२३ कार्तिक २०८१, शुक्रबार ०९:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading