08, Oct, 2024

एकीकृत समाजवादीका नेताहरूको कार्य विभाजन : संघ र प्रदेश निर्वाचन क्षेत्र मुख्य आधार

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ भाद्र २०८१, आईतवार १३:३० | ४ हफ्ता अगाडी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर केन्द्रीय नेताहरूको कार्य विभाजन गर्ने भएको छ ।

अधिकांश केन्द्रीय सदस्यहरुलाई भूगोलमा खटाउने र त्यसका लागि सङ्घीय र प्रदेश निर्वाचन क्षेत्रसम्मको जिम्मेवारी प्रदान गर्ने तयारी भइरहेको उपमहासचिव तथा नेकपा एकीकृत समाजवादी केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईले जानकारी दिए ।

केही दिनभित्र स्थायी कमिटी बैठक नेताहरूको कार्य विभाजन र विभागीय प्रमुखहरू तोकिने नेता भट्टराईको भनाइ छ ।

अध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र वरिष्ठ नेतासहितको २४ सदस्यीय पदाधिकारी नै सो पार्टीको स्थायी कमिटी बनेको छ ।

असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले महाधिवेशन सकिएको २ महिना बित्दा पनि केन्द्रीय नेताहरूको कार्य विभाजनसहित विभागीय प्रमुख तोक्न नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ ।

सो पार्टीका केन्द्रीय सचिव समेत रहेका नेता सोमप्रसाद पाण्डेले आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले नेताहरूको कार्य विभाजनमा ढिलाइ भएको स्वीकार गरे ।
‘कार्य विभाजनका लागि केही गृहकार्य गर्नुपर्ने भएकाले केही समय ढिलाइ भए पनि अव चाँडै टुङ्गिन्छ’, पाण्डेले भने, ‘ढिलाइ भएकोमा सामान्य आलोचना हुनु स्वाभाविक हो । किनभने जिम्मेवारी लिएर कार्यक्षेत्रमा जाने हतारो नेता कार्यकर्तामा देखिनु त सकारात्मक नै हो ।’

केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने अधिकार स्थायी कमिटीलाई दिएकाले स्थायी कमिटी बैठकमार्फत जिम्मेवारी तोक्ने विषयमा अनौपचारिक छलफल भइरहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनले मजबुत पार्टी सङ्गठन निर्माणका लागि केन्द्रीय नेताहरूलाई अनिवार्य रूपमा भूगोलमा खटाउनुपर्ने आवश्यकता देखिएकाले सोही अनुसार अघि बढ्ने योजना बनिरहेको बताए ।

‘विभागीय जिम्मेवारी जेजे भए पनि प्रत्येक नेतालाई भूगोलको जिम्मेवारी दिनेगरी छलफल भइरहेको छ’, खतिवडाले भने, ‘माधव नेपाल र जगन्नाथ खतिवडा जुनसुकै पद र विभागमा भए पनि उनीहरूले एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी अनिवार्य लिनुपर्छ र त्यसको जस अपजस पनि आफै लिनुपर्छ भन्नेगरी छलफल चलिरहेको छ ।’

भदौ महिनाभित्र नेताहरूको कार्य विभाजन गर्ने भनिएपनि केही समय ढिला हुनसक्ने खतिवडाको भनाइ छ ।

‘सकेसम्म भदौभित्र नभए असोज पहिलो साता नेताहरूको कार्य विभाजन र पार्टी कमिटीहरुलाई पूर्णता दिने तयारी छ’, खतिवडाले भने, ‘सम्भवतः छिट्टै पनि हुनसक्छ ।’

असारदेखि भदौसम्म किस्ताबन्दीमा २१ पदाधिकारीसहित ३४४ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको सो पार्टीले नेताहरूको जिम्मेवारी बाँडफाँड र विभागीय प्रमुख, जनसङ्गठन प्रमुख र जिल्ला इन्चार्जहरूको कार्य विभाजन गर्न ढिलाइ गरेको हो ।

विधान त सो पार्टीमा सङ्गठन विभाग, विदेश विभाग लगायत विभिन्न ३१ वटा विभाग रहेका छन् । यसअघि सङ्गठन विभागको प्रमुख डा. बेदुराम भुसाल रहेका थिए भने विदेश विभाग प्रमुख झलनाथ खनाल रहेका थिए । त्यस्तै २४ वटा जनसंगठन, ७७ जिल्ला, ३ वटा आयोग रहेका छन् । यसबाहेक भूगोलतर्फ सात प्रदेश र उपत्यकासहित ९ प्रदेश, ५ वटा पेसागत महासङ्घ (किसान, मजदुर लगायत) को पनि इन्चार्ज तोक्न बाँकी रहेको छ ।

सचिव भट्टराईले ३१ विभाग, २४ प्रवाससहित भूगोलतर्फ जिल्ला इन्चार्ज ८९, प्रदेश ९, ५ पेसागत महासङ्घ र केन्द्रीय नेतालाई निर्वाचन क्षेत्रको इन्चार्ज एकै पटक तोक्ने तयारी भएको जानकारी दिए ।

‘सबै विभाग र महासङ्घ, आयोगहरूका इन्चार्ज पहिला तोकिन्छ । त्यसपछि ति विभागहरूलाई पूर्णता दिने तयारी छ’, नेता भट्टराईको भनाइ छ ।

यसअघि पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य चयन गर्दा नेताका वरिपरिकालाई स्थान दिएको भन्दै सो पार्टीमा असन्तुष्टि देखिएको थियो । अबको कार्य विभाजन पनि सोही अनुसार भए असन्तुष्टि विस्फोट हुनसक्ने एक नेताले बताए ।

‘नेताहरूको कार्य विभाजनमा ढिला भयो, यसले नेता कार्यकर्ताले जिम्मेवारीविहीन हुनुपरेको महसुस गरेका छन्’, एक पदाधिकारीले भने, ‘अव हुने कार्य विभाजन पनि नेताका वरिपरिकालाई प्राथमिकतामा राखेर गरियो भने थप असन्तुष्टि चुलिन्छ’, ती नेताको भनाइ छ ।

यस अघि सम्पन्न महाधिवेशन र पदाधिकारी छनोटप्रति नेताहरू केशवलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, सांसदहरू कृष्णकुमार श्रेष्ठ (किसान), प्रेम आले लगायतका नेताहरूले चर्को असन्तुष्टि प्रकट गरेका थिए ।

२३ भाद्र २०८१, आईतवार १३:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading