08, Oct, 2024

बंगलादेशमा प्रधानमन्त्री निवासभित्र तोडफोड र लुटपाटः कुखुरादेखि अन्डरवेयरसम्म बोकेर हिँडे प्रदर्शनकारी

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ श्रावण २०८१, मंगलवार ११:५२ | २ महिना अगाडी

एजेन्सी । बंगलादेशमा जारी आन्दोलनका क्रममा हिजो प्रधानमन्त्रीको निवासमा घुसेका प्रदर्शनकारीले व्यापकरुपमा लुटपाट र तोडफोड गरेका छन् । सुरक्षाकर्मीले कुनै प्रतिरोध नगरेपछि उनीहरूले त्यहाँ दिनभर उपद्रव मच्चाएका थिए ।

ठूलो संख्यामा प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास नजिक आएपछि सेनाले सुरक्षा दिन नसक्ने अवस्था उत्पन्न भएको थियो । त्यसपछि प्रधानमन्त्री शेख हसिना निवास छोडेर भागिन् । उनलाई मोटरकेड र हेलिकोप्टरमार्फत निवासबाट बाहिर निकालिएको थियो । प्रधानमन्त्री बाहिरिएसँगै सेनाले पनि प्रदर्शनकारी समक्ष अघोषित आत्मसमर्पण गर्‍यो ।

हजारौंको संख्यामा प्रदर्शनकारी पर्खाल नाघेर प्रधानमन्त्री निवास गणभवनभित्र छिरेका थिए । धेरैको हातमा लाठी थियो । कसैले बंगलादेशको झण्डा बोकेका थिए । निवासभित्र छिर्नासाथै वितण्डा सुरू भयो । कोही झ्यालढोका र फर्निचरमा तोडफोड गर्न थाले । कोही टेबलमा चढेर उफ्रिए । कोही बेडरुममा पसेर पलङमा लमतन्न सुते । कोही फोटो र सेल्फीमा व्यस्त भए ।

एउटा हुल भान्सामा पस्यो । त्यहाँ माछा मासुलगायत विभिन्न परिकारहरू तयारी अवस्थामा थिए । सायद लन्चको समय भएको थियो । प्रदर्शनकारीले पकाएकै भाँडोबाट खानेकुराहरू बुत्याए । कसैले फ्रिज उघारेर काँचो माछा र तरकारीहरू लिएर हिँडे । कसैले भाँडाकुँडा उठाए ।

बेडरुमभित्र छिरेकाहरूले लुगाफटाहरू झिक्न थाले । सारीलगायत महिलाका भित्री वस्त्रहरु पनि उनीहरूले छोडेनन् । एक युवक त साडी लगाएरै निस्किए ।

प्रदर्शनकारीहरूले मन लागेको सामनाहरू त्यहाँबाट उठाए । कसैले टेलिभिजन भेटे, कसैले पंखा, कसैले कुर्सी, कसैले किताब, कसैले कुखुरा आदि । त्यहाँ कुनै पनि रोकटोक थिए । सार्वजनिक भएका भिडिओ फुटेजमा एकाध सैनिकहरू देखिन्छन् । तर, उनीहरूले केबल सम्झाउने प्रयास गरेका छन् । कुनै बल प्रयोग गरेका छैनन् । बल प्रयोग गर्न सक्ने अवस्था पनि थिएन ।

निवासभित्र मानिसहरू आउने र सामानहरू लिएर हिँड्ने क्रम दिनभरि चलिरहेको थियो । तोडफोडको क्रम पनि जारी नै रह्यो । फलतः प्रधानमन्त्री निवास युद्धमैदानजस्तो देखिएको छ । त्यहाँ बुङबुङ धुलो उडिरहेको छ । सामानहरु केही सद्दे छैनन् । बचेखुचेका फर्निचरहरू पनि तोडफोड भएका छन् ।

२२ श्रावण २०८१, मंगलवार ११:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading