काठमाडौं । बंगलादेशमा सरकारविरोधी र पक्षधरले एकै स्थान र समयमा प्रदर्शन तय गरेका छन् । बंगलादेशको अंग्रेजी अखबार डेली स्टारका अनुसार बंगलादेशको चित्तग्राम बजार क्षेत्रमा दुवै पक्षले स्थानीय समयअनुसार आइतबार ११ बजेपछि कार्यक्रम राखेका हुन् ।
सरकारी अधिकारीहरूले कानुनी खण्ड १४४ को प्रयोग गरेर दुवै पक्षको विरोधलाई निषेध गर्ने सम्भावना भएको समाचारमा जनाइएको छ । शनिबार बंगलादेशका शिक्षामन्त्री मोहिबल हसन चौधरी तथा चत्तोग्रामका मेयर रेजुल करिम चौधरीको आवासमा प्रदर्शनकारीले आक्रमण गरेका थिए ।
यस्तै सरकार समर्थकले प्रमुख विपक्षी दल बीएनपीका उपाध्यक्ष मिर महोमद नासिन उदिनलगायत विभिन्न शीर्ष नेताहरूको घरमा आक्रमण गरेका छन् । गत जुलाई १५ बाट सुरु भएको बंगलादेशको प्रदर्शनमा सुरुवातबाटै सरकारी पक्षले दमन गर्दै आएको छ । बंगलादेश छात्र लिग नामको सत्ताधारी दल अवामी लिगको भातृ संगठनहरुले विद्यार्थीहरूको प्रथम चरणको आन्दोलन भएकै दिन जुलाई १५ मा क्याम्पस हातामा हातपात गरेको थियो ।
त्यसको प्रतिकारमा देशभर आन्दोलन भएको थियो । गत जुलाई २१ मा बंगलादेशको सर्वोच्च अदालतले कोटा खारेजी गरेसँगै आन्दोलन कोटाको कुराबाट व्याक भएको छ भने २०० बढी प्रदर्शनकारी विद्यार्थीहरुको ज्यान गएकोले त्यसमा जोडिएकाहरूलाई कारबाहीको माग गर्ने ९ बुँदे माग राखेर फेरि आन्दोलन चर्किएको छ । आरक्षण विरोधबाट सुरू भएको आन्दोलन दमनपछि सरकारविरोधी आन्दोलनमा परिणत भएको छ । प्रधानमन्त्री शेख हसिनाको राजीनामासमेत माग्न थालिएको छ ।