काठमाडौ । काठमाडौ नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकारसँग मिलेर एक वर्षमा साढे १७ सय बढीको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरेको गरेको छ।
विभिन्न स्थानीय पालिकाहरूसँगको सहकार्यमा ‘उज्यालो साझेदारी’ अभियान कार्यक्रम अन्तर्गत एक वर्षमा साढे १७ सय बढीलाई उज्यालो प्रदान गरेको अस्पतालको तथ्यांकले देखाउँछ।
आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत एक हजार ७६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए।
राप्ती आँखा अस्पताल तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर दाङले बितेको आर्थिक वर्षमा ‘उज्यालो अभियान’ अन्तर्गत तुलसीपुर उपमहानगरपालिकासँगको साझेदारीमा ५४५ जना, घारोही उपमहानगरपालिकामा ३१३ जना, बबई गाउँपालिकामा ८१ जना, शान्तिनगर गाउँपालिकामा ६३ जना, दंगीशरण गाउँपालिकामा १२२ जनाको शल्यक्रिया गरिएको थियो।
पाँच पालिकाको साझेदारीमा एक हजार १२४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशासक तथा बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले बताए।
दाङकै देउखुरीस्थित लमही आँखा अस्पतालले गएको आर्थिक वर्षमा स्थानीय पालिकासँगको साझेदारीमा लमही नगरपालिकामा एक सय ९१ जना, गढवा गाउँपालिकामा ८२ जना, राजपुर गाउँपालिकामा ९९ जना र राजपुर गाउँपालिका-३ मा १० जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको लमही अस्पतालका नेत्र सहायक अमृत नेपालले बताए।
त्यस्तै नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले पनि कपिलवस्तुका विभिन्न पालिकासँगको साझेदारीमा बितेको आर्थिक वर्षमा थप ४४९ जनाको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ।
अस्पतालका बाह्य कार्यक्रम सह-संयोजक हरि भण्डारीका अनुसार शिवराज नगरपालिका संगको साझेदारीमा नगरका ११०, बुद्धभूमी नगरपालिकामा १०० जना, कृष्णनगर नगरपालिकामा १३२ जना, वाणगंगा नगरपालिकामा ६० जनाको नि:शुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो।
साथै बुद्धभूमी नगरपालिकामा फेको प्रविधिबाट ५० प्रतिशत अनुदानमा थप ४७ जनाको शल्यक्रिया गरिएको थियो।
विभिन्न ठाउँका पालिकासँगको सहयोगमा सञ्चालिन ‘उज्यालो साझेदारी’ अभियानले दृष्टिविहीनताको न्यूनीकरण हुनुका साथै आर्थिक अभाव र अन्य कारणले दृष्टिविहीन भई बस्नु परेकाले उज्यालो संसार देख्न पाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए।
तुलसीपुर उपमहानगरपालिका सँगको साझेदारीमा सुरूमा राप्ती आँखा खस्पतालले ‘उज्यालो अभियान’ सञ्चालन गरेको थियो।
तुलसीपुरबाट सुरू भएको त्यो अभियान आज दाङका साथै कपिलवस्तु जिल्लासम्म पुग्नु अनुकरणीय मान्नु पर्ने नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य समेत रहेका गिरीले बताए।
‘हामीले हुनेसँग लिने र नहुनेलाई नि:शुल्क आँखा उपचार सेवा प्रदान गर्दै आएका छौं,’ उनले भने, ‘स्थानीय सरकार सँग आँखा स्वास्थ्य सेवामा साझेदारी गर्नुको उद्देश्यले अन्धोपन घटाउन सामूहिक प्रयास जरूरी छ भन्नु नै हो।’
तुलसीपुर र घोराही उपमहानगरपालिका र गढवा गाउँपालिका लगायतले अभियानलाई आगमी वर्षमा पनि निरन्तरता दिन आफ्नो नीति तथा कार्यक्रमका साथै बजेटमा समेत प्रस्तुत गरेका छन्।
दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि आँखा अस्पताल संगको साझेदारीमा सर्वसाधारण स्थानीयको नि:शुल्क मोतियाबिन्दुको शल्यक्रिया अभियानामा जोडिँदा सकारात्मक सन्देश प्रवाह भएको बताए।
‘हाम्रो अभियानबाट सर्वसाधारण खुसी छन्,’ उनले भने, ‘सबै भन्दा ठूलो कुरा मानिसको आँखाको ज्योति फर्काउनु हो। हामीले अन्धोपन न्यूनीकरणमा एक इट्टा थपेका छौं भन्ने लाग्छ।’
चालु आर्थिक वर्षमा पनि अभियानलाई निरन्तरता दिन बीमा कार्यक्रमसँग जोड्ने तयारी दंगीशरणले गरेको अध्यक्ष गिरीले बताए।
स्थानीय सरकारको सहयोग विना दृष्टिविहीनताको व्यापकतालाई न्यूनीकरण गर्न सम्भव नभएकाले साझेदारी कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती प्रमुख प्रशासक शम्शेर थापाले मोतियाविन्दु भएका र आर्थिक अभावका कारण उपचार गराउन नसकेका व्यक्तिहरू अभियानबाट विषेश लाभान्वित भएको बताए।
कोही पनि अन्धोपन हुनु नपरोस भन्ने पबित्र उदेश्यका साथ अभियान सुरू भएको र त्यसले सकारात्मक परिणामहरू निकालेको उनले बताए।
नेपाल सरकारको स्वास्थ्य नीतिलाई समेत सहयोग पुग्ने गरी पालिकाहरू सँगको साझेदारीमा नि:शुल्क मोतिविन्दुको शल्यक्रियाका हुँदै आएको छ। त्यसका लागि स्थानीय पालिकाहरूले निश्चित बजेटको व्यवस्थापन गर्दै आएका छन्। पालिकासँग अस्पतालले सम्झौता गरी ‘उज्यालो अभियान’ विगतका वर्ष देखि नै सञ्चालन गर्दै आएको छ।
यो आर्थिक वर्ष भन्दा गत वर्ष ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत एक हजार आठ सय ९९ जनाको मोतियाविन्दुको नि:शल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको अस्पताल प्रशासनको तथ्यांकमा उल्लेख छ।