काठमाडौं । नेपालका नेताहरू अंग्रेजी राम्ररी बोल्न नजान्दा सामाजिक सञ्जालमा ट्रोल हुनु कुनै नयाँ कुरा होइन । यसको पछिल्लो शिकार बनिरहेका छन् कांग्रेस सांसद रामहरी खतिवडा ।
सांसद खतिवडाले दुई दिनअघि त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाबारे विदेशी मिडियालाई दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त अन्तर्वार्तामा खतिवडाले निकै सकसपूर्वक टुटेफुटेको अंग्रेजीमा उत्तर दिएका छन् । अंग्रेजीमा बोल्ने आत्मविश्वास देखाए पनि उनको भनाइको आशयलाई राम्ररी प्रष्ट्याउन सकेका छैनन् । वाक्य पूरा गर्न नै उनलाई हम्मे परेको छ ।
सिंहदरबारमा संसदीय समितिको बैठकबाट बाहिर निस्कँदा उनलाई पत्रकारले घेरेका थिए । पत्रकारको भिडमा एक विदेशी मिडियाका सञ्चारकर्मीले अंग्रेजीमा प्रश्न सोधेकी थिइन् ।
खतिवडाले यसरी जवाफ दिए, ‘दिस इज भेरि ब्याड एक्सिडेन्ट इन नेपाल … नेपाल गभरमेन्ट वा…. वान्टेड टु…..सो द्याट इन नेपाल…. स्काइ यान्ड….ग्राउन्ड दी टु आर भेरि सेफ फर अस इट विल वी सो इन द वर्ल्ड ।’
@projectkura In the video, Nepali Congress leader Ramhari Khatiwada is asked about an accident. His response, spoken in broken English, has gone viral. #nepal #projectkura ♬ original sound – project kura
खासमा खतिवडाले नेपालको सरकारले आफ्नो आकाश र जमिन सुरक्षित छ भनेर विश्वलाई सन्देश दिन सक्नुपर्ने बताउन खोजेका थिए । तर, आफ्नो भनाइलाई राम्ररी अभिव्यक्त गर्न सकेनन् ।
त्यसपछि पत्रकारले दुर्घटनाको कारणबारे सोध्छिन् ।
खतिवडाले फेरि अंग्रेजी फलाक्ने आत्मविश्वास देखाउँछन् । यसपालि उनले सरक्कै आफ्नो बाक्य पूरा गर्न सफल भए ।
‘वी डोन्ट नो एक्चुअल्ली ह्वाट ह्यापन्ड बट मोस्ट अफ द इन्जिनियर पिपुल आर गोइङ टु सी चेक इन द्याट प्लेन सो इट ह्यापेन्ड एक्सिडेन्ट,’ यति भनेर उनी हिँड्छन् ।
यो भिडिओमा नानाथरि कमेन्ट आइरहेका छन् । नेपालको एक सांसदले विदेशी मिडियामा टुटेफुटेको अंग्रेजी बोलेर दयनीय प्रस्तुति दिएको भन्दै उनको आलोचना भएको छ ।
यो विषयमा खतिवडासँग गरेको संक्षिप्त सवालजवाफ
– सांसदजस्तो जिम्मेवार व्यक्तिले विदेशी मिडियासँग त्यसरी बोल्दा देशकै बेइज्यत भयो भनिरहेका छन् नि धेरैले ?
हाम्रो जे विषय छ, त्यो विषयमा सोध्नु पर्यो नि त ! अर्थ न वर्थका कुरा सोध्ने अनि ट्रोल गर्दिने ?
– तर, जबर्जस्ती अंग्रेजी बोल्नुभन्दा नेपालीमै जवाफ दिएको भए हुन्थ्यो कि !
हाम्रो नेपाली भाषा हो । नेपाली भाषामा सबैले बोल्छन् । त्यसलाई कस-कसले प्रयोग गर्नुपर्छ गर्दा भइहाल्यो । इस्यूगतरूपमा हामी आफ्नो विषयमा जाने हो । मान्छेलार्ई ह्यूमिलियट गर्न अरु अरु कुरा गरेर इस्यूलाई डाइभर्ट गर्न भएन ।
– इस्यू कसरी डाइभर्ट भयो र ? विमानकै कुरा त सोधिएको थियो नि ?
त्यो त मैले भनेकै छु त । नेपालको आकाश र नेपालको भूमि सेफ हुनुपर्यो भन्ने अन्तर्राष्ट्रिय राष्ट्रिय रूपमा फिलिङ्स सबैलाई हुने वातावरण सरकारले बनाउनुपर्छ । बारम्बार दुर्घटना भएका छन् । दुर्घटना रोक्न सकिने कुरा होइन, तर कारण के हुन् पत्ता लगाएर अब दुर्घटना नहुने बाटो सरकारले अबिलम्बन गर्नुपर्यो ।
पत्रकारले यही विषयमा प्रवेश गर्नुपर्यो नि ! अरु विषय ल्याएर डाइभर्ट गर्नु भएन भनेको ।
– तपाईंले नजानी-नजानी अंग्रेजी बोलेको विषयमा चाहीँ धेरै आलोचना भइरहेको छ क्या ?
सबै कुरा जान्ने त को हुन्छ र एकैचोटि ।
– सांसदले त ढंग पुर्याएर बोल्नु पर्यो नि होइन ?
सांसद भनेको के हो ? जनताबाट निर्वाचित प्रतिनिधि भनेका सबै अंग्रेजीमा पोख्त हुनुपर्छ भन्ने छ ? सबै सांसद अक्सफोर्ड र हार्डवर्डबाट मात्रै पढेका हुन्छन् ?
स्मरणीय छ कि खतिवडाले मास्टर्ससम्मको अध्ययन गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेका थिए । खतिवडाले कानूनमा स्नातक पनि गरेका छन् । राजनीतिमा आउनुअघि उनी केही समय शिक्षण पेशामा थिए ।