08, Oct, 2024

गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी)सहित सुरक्षा निकायको प्रमुखको टोली दुर्घटनास्थल सिमलताल जाँदै

बागमती भ्वाइस
बागमती भ्वाइस
३० असार २०८१, आईतवार १३:२७ | २ महिना अगाडी

काठमाडौं । चितवनको नारायणगढ मुग्लिङ सडक खण्डको सिमलताल भन्ने स्थानबाट त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुको खोजीको निरीक्षण गर्न गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी)सहित सुरक्षा निकायको प्रमुखको टोली चितवन जाने भएको छ ।

दिउँसो गृह मन्त्रालयका सचिव, आईजीपी लगायतको टोली घटनास्थल एवं खोजी कार्यको निरीक्षणका लागि जान लागेको गृह मन्त्रालयले जनाएको हो ।

गत शुक्रवारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार त्रिशूलीमा हराइरहेका यात्रुको आइतबार बिहान ७ बजेदेखि नै खोजी गरिने भनिए पनि पानी परिरहेकाले खोजी कार्य केही बेर ढिलो सुरु भएको छ ।

आइतबार ठूलो चुम्बक अर्थात् म्याग्नेटको प्रयोग गरेर बस खोज्न लागिएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार अहिलेसम्म बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर, टेलिस्कोपको लगायतको सहायताले खोजी जारी राखिएको भए पनि बस र बसमा सवार यात्रु भेटिएका छैनन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बसमा ५० जनाभन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएकोमा तीन जना बसबाट हाम फाल्दै पौडिएर बाँच्न सफल भएका थिए ।

३० असार २०८१, आईतवार १३:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading