05, Dec, 2024

बिहेको लोभ देखाएर चीन पुर्‍याइएका ३ नेपाली महिलाको उद्धार, एकजना पक्राउ, अरुको खोजी हुँदै

बागमती भ्वाइस
बागमती भ्वाइस
२० असार २०८१, बिहीबार १४:१२ | ५ महिना अगाडी

सिन्धुपाल्चोक । बिहेको प्रलोभनमा चीन पुर्‍याएर बन्धक बनाइएका सिन्धुपाल्चोकका दुई महिलासहित तीनजनालाई उद्धार गरिएको छ ।

चीनमा बन्धक बनाएर घरेलु काममा लगाइएका उनीहरूले प्रहरीमा उजुरी दिएका थिए । उनीहरूलाई चीनमा मानव बेचबिखचन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

सिन्धुपाल्चोक मेलम्चीका २ र नुवाकोटकी एक महिलालाई चीन लगिएको थियो । आरोपित राईलाई असार ११ गते पक्राउ गरिएको हो । सामाजिक सञ्जालबाट कुराकानी गरी सुन्दरीले आफू चिनियाँसँग विहे गरी आएको र चिनियाँ केटा मिलाइदिने भन्दै प्रलोभनमा पारेको बताइएको छ ।

राईले उनीहरूलाई काठमाडौंमा चिनियाँ नागरिकसँग भेट गराई फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएका थिए । त्यहाँ शारीरिक र मानसिक यातनामात्र नभई पटकपटक यौन शोषण गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई बन्धक बनाएको पाइएपछि चीनस्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन र नेपाली दूतावासको समन्वयमा असार ९ गते उद्धार गरी नेपाल फर्काइएको एसपी गौतम मिश्रले जानकारी दिए । घटनामा संलग्न चिनियाँ नागरिक र अन्यको खोजी भइरहेको उनले बताए ।

योसँगै नेपाली चेली चीनको विभिन्न स्थानमा बेचबिखनका लागि पुर्‍याइएको तथ्य खुलेको छ । विवाह, रोजगारी तथा विभिन्न वहानामा नेपाली महिला चीनको ग्रामीण तथा शहरी क्षेत्रमा पुर्‍याइएको पाइएको एनआरएन चीनका महासचिव प्रदीप नेपालले जानकारी दिए ।

२० असार २०८१, बिहीबार १४:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading