22, Jul, 2024

प्रधानमन्त्रीले राजीनामा होइन संसदबाट विश्वासको मत लिनुहुन्छः देव गुरूङ

बागमती भ्वाइस
बागमती भ्वाइस
१९ असार २०८१, बुधबार १५:३३ | २ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले सरकारमा रहेका दलहरुले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव गुरूङले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोजिएकाले प्रधानमन्त्रीले राजीनामा नगर्ने बरू संविधान अनुसार संसदबाट विश्वासको मत लिने बताएका हुन्।

‘एउटै समीकरण भित्र कसले नेतृत्व गर्ने भन्ने कुराको आधारमा राजीनामाको कुरा आउँछ। विपक्षसँग मिलेर जबरजस्ती रूपले राजीनामा दिने भन्ने हुँदैन,’ उनले भने, ‘राजीनामा स्वेच्छा हो। एउटै समीकरणभित्र कसले के भूमिका निर्वाह गर्ने भन्ने क्रममा भूमिका परिवर्तन हुँदा राजीनामा दिने कुरा हो।’

त्यो बाटोबाट गएको भए वर्तमान समीकरण भित्रका जोकोही पनि प्रधानमन्त्री बन्न सक्ने गुरूङले बताए।

गुरूङले फेरि ७६(२)अनुसारको सरकार बनाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए। संसदको प्रक्रियाबाट जाँदा विद्यमान सरकारले विश्वासको मत नपाउँदा ७६(३)अनुसारको सरकार बन्ने उनको दाबी छ।

‘राजीनामाको प्रक्रियाबाट मात्रै ७६(२) को सरकार बन्ने हो अन्यथा बन्दैन।संविधानका प्रावधानहरूलाई मिच्न खोज्ने कुल्चन खोज्ने। संविधानमाथि कू गर्न खोजिएको त होइन भन्ने आशंका देखिएको छ,’ उनले भने।

गुरूङले चित्त नबुझेपनि संविधान पालना गर्नुपर्ने र संसोधन नै गर्नुपरे समय आउने बताए।

‘त्यो बेलामा आपसी सहमति समझदारीको आधारमा सरोकारवालाहरूका बीचमा गर्ने कुरा हो। मध्यरातमा लुकीलुकी संविधानको प्रावधानहरू मिचमाच गर्ने संविधान उल्लंघन गर्ने काम गरेर हुँदैन,’ उनले भने।

समीकरण भित्र छलफल भएर समीकरणकै अरू व्यक्ति प्रधानमन्त्री हुन्थ्यो भने राजीनामाको प्रक्रियामा पनि सहमत हुन सकिने गुरूङले बताए।

‘प्रधानमन्त्री बन्नकै लागि खोज्नुभएको हो भने त्यो सहज र मूल बाटो थियो। प्रतिपक्षी र सदनको बाटो खोजेपछि सदनकै बाटोबाट जानुपर्‍यो। संविधानमै टेकेर जानुपर्‍यो,’ उनले भने।

अहिले बनाउन खोजिएको गठबन्धनको उद्धेश्य पवित्र भएपनि प्रकारान्तरमा नेपाल शक्ति केन्द्रको क्रीडास्थल बन्न सक्ने गुरूङले बताए।

‘भूराजनीतिक परिस्थितलाई नबुझी चालिने कदमले युक्रेन दोहोरिन सक्दैन भन्न सकिन्न। यसको पछाडि उहाँहरूको नियत उद्धेश्य पवित्रै होला तर परिणाम दोस्रो युक्रेन बनाउने दिशामा छ,’ उनले भने।

त्यसकारण समयमै पुनर्विचार गरेर वामपन्थी नेतृत्वको गठबन्धनलाई नै सुदृढ पारेर अघि बढाउनुपर्ने गुरूङको भनाइ छ।

‘कहाँ कहाँ समस्या भएको छ, यही गठबन्धनमा समाधान खोजौं । उपाय खोजौं। यसरी निरन्तरता दिऔं,’ उनले भने।

१९ असार २०८१, बुधबार १५:३३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading