22, Jul, 2024

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन: मन्त्री शर्मा

बागमती भ्वाइस
बागमती भ्वाइस
३१ जेष्ठ २०८१, बिहीबार १५:३९ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुन अनुसार समाजलाई मान्य हुने टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन्।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको कानुन अनुसार समाजलाई मान्य हुने गरी चलाउँदा टिकटक लगायत कुनैपनि सञ्जालहरूसँग आपत्ति नरहेको बताएकी हुन्।

‘हामीले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी गर्‍यौं। अहिले हामी सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा छौं। यो गर्दै-गर्दा सबै विषयमा हामीले छलफल गर्नुपर्छ,’ उनले भनिन्, ‘नेपालका कानूनहरू, नेपालको समाजको महत्व आफ्नै छ। यो सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरू आउँछन् भने टिकटक लगायत कसैसँग पनि आपत्ति छैन। टिकटक नाममा हाम्रो कुनै समस्या होइन।’

उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले बन्द गरेको बताइन्।

‘टिकटकले जुन कन्टेन्टहरू दिन्थ्यो, त्यो स्वनियमनको व्यवस्था थिएन, सबैले स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ। हामीले फेसबुक सञ्चालकहरूसँग भेटेका छौं।

‘हामीले उहाँहरूलाई नेपालको नियम कानून र सोसल भ्याल्युलाई सबैले मान्नुपर्छ भनेका छौं,’ उनले भनिन्, ‘यहाँ दर्ता भएको हुनुपर्छ। अहिलेसम्म कुनैपनि सामाजिक सञ्जाल दर्ता भएको थिएन। दर्ता भएर राम्रोसँग चलाउनुपर्छ। हामीले कानुनी दायरामा ल्याउने प्रयत्न गरेका हौं।’

३१ जेष्ठ २०८१, बिहीबार १५:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading