18, May, 2024

दुर्गा प्रसाईंको नाम लिँदै पूर्वडिएसपीमाथि दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

बागमती भ्वाइस
बागमती भ्वाइस
१ जेष्ठ २०८१, मंगलवार ११:२२ | ३ दिन अगाडी

काठमाडौ । काठमाडौ मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिँदै पूर्वडिएसपी केपी शर्मा पन्थीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त गौशालाले पन्थीमाथि दुर्व्यवहार गरेको आरोपमा मिलन भन्ने ज्ञानबहादुरलाई पक्राउ गरेको हो। उनको पूरा नाम प्रहरीले खुलाएको छैन।

मेडिकल व्यवसायी प्रसाईंको विरूद्धमा अभिव्यक्ति दिएको भन्दै मिलनसहितको एक समूहले पूर्वडिएसपीमाथि दुर्व्यवहार गरेका थिए।

प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेका अनुसार यो घटना वैशाख ९ गते गौशालामा भएको थियो। तर यस घटनाबारे सामाजिक सञ्जालमा भिडिओ आएको थियो।

पीडित पन्थी पनि वैशाख २७ गते वृत्त गौशालामा जाहेरी दिएका थिए। प्रसाईंका समर्थकहरू बताउने समूहले पन्‍थीको हात बाँधेर जुत्ताको माला लगाउँदै दुर्व्यवहार गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले अराजकता फैलाउनेलाई कारबाहीको दायरामा ल्याउने बताए।

‘घटना म आउनुभन्दा अगाडिको रहेछ। केही दिनअघि गौशाला वृत्तमा निरीक्षण गर्न जाँदा मैले पनि भिडिओ देखेको थिएँ,’ उनले भने, ‘यसरी अराजकता फैलाउनेलाई कारबाहीको दायरामा ल्याइन्छ। त्यही दिन एक जना पक्राउ परेका थिए। अन्य फरार छन्, खोजी भइरहेको छ।’

पक्राउ परेकामाथि अपमानजनक व्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए।

१ जेष्ठ २०८१, मंगलवार ११:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading