वि.सं.२०८१ माघ ५ शनिवार

घोराही उपमहानगरपालिकाकै प्रशासनिक भवन अलपत्र, ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । घोराही उपमहानगरपालिकाकै प्रशासनिक भवन अलपत्र पार्ने ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको छ । पटकपटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएको भन्दै ठेक्का रद्द प्रक्रिया अगाडि बढाइएको भौतिक पूर्वाधार महाशाखाले जनाएको छ ।

पटकपटक लिखित, मौखिक ताकेता गर्दा पनि अटेरी गरेको र सम्पर्कमै नआएको भन्दै घोराही उपमहानगरले ठेक्का तोड्ने चेतावनीसहित ठेकेदार कम्पनीको नाममा सूचना जारी गरेको छ । ‘निर्माण कार्य अगाडि बढाउन कुनै सक्रियता नदेखाएको, निर्माण व्यवसायी सम्पर्कविहीन रहेकाले उक्त निर्माण ठेक्का किन नतोड्ने ?’ सूचनामा भनिएको छ ।

निर्माण कम्पनीलाई ठेक्का नतोड्नुपर्ने विश्वसनीय कारणसहित ७ दिनभित्र सम्पर्कमा आउन पनि उपमहानगरले आग्रह गरेको छ ।

२ वर्षभित्र काम सक्ने गरी श्री गौरी/पार्वती/भुसाल/बस्नेत जेभीसँग ०६ वैशाख ०७८ मा सम्झौता भएको थियो । सम्झौताअनुसार काम अगाडि बढेको भए ०८० वैशाखभित्रै काम सकिइसकेको हुन्थ्यो । तर, सम्झौता सकिएको एक वर्ष बढी भइसक्दा पनि करिब १५ प्रतिशतमात्रै भौतिक प्रगति भएको उपमहानगरको पूर्वाधार महाशाखाले जनाएको छ ।

सम्झौता अनुसार काम नभएपछि दोस्रोपटक चैत मसान्तसम्म म्याद थपिएको थियो । ‘काम गर्छु भनेर दोस्रो पटक थपिएको म्याद पनि चैतमै सकिइसक्यो । त्यसपछि पनि काम अगाडि बढ्न सकेन’, उपमहानगरको पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेलले भने, ‘तल्लो बेसमेन्टबाहेकको अरु काम भएकै छैन ।’
उपमहानगरले आफ्नो प्रशासनिक भवन बनाउन ठेकेदार कम्पनीसँग २० करोड रुपैयाँमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सुरुआतमा सम्झौता अनुसार नियमित काम गरे पनि एक वर्षपछि सम्पर्कविहीन भएको हो । ‘योबीचमा हामीले कति पटक पत्राचार गर्‍यौं, गर्‍यौं । आफ्नोतर्फबाट पुर्‍याउनुपर्ने प्रक्रिया पूरा गरिक्यौं’, पूर्वाधार महाशाखा प्रमुख पौडेलले भने ।

करिब ४ करोड रुपैयाँ पेश्की लिएर पनि काम नगरेपछि ठेक्का तोड्न सूचना जारी गरिएको उपमहानगरले जनाएको छ । ‘अब काम गर्ने कि नगर्ने, गर्ने भए कहिलेसम्म गर्ने भनेर सूचना निकालेका छौं । त्यसबाहेक बैंकबाट ग्यारेन्ट तान्न पनि प्रक्रिया सुरु भइसकेको छ’, इन्जिनियर पौडेलले भने, ‘ठेकेदार कम्पनी अहिले हाम्रै सम्पर्कमा छ ।’

नयाँ नगर प्रशासनिक भवन घोराही उपमहानगरपालिकाको प्रांगणभित्रै बनिरहेको छ । उपमहानगरले भूमिगत पार्किङ र लिफ्टसहित सुविधासम्पन्न नयाँ प्रशासनिक भवन बनाउन लागेको हो ।