काठमाडौं । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका नेपालप्रेसकर्मी नविनकाजी राईको स्वास्थ्य अवस्थामा २४ घण्टा बितिसक्दा पनि उल्लेख्य सुधार हुन सकेको छैन ।
उपचारमा संलग्न काठमाडौं मेडिकल कलेज सिनामंगलका चिकित्सकका अनुसार उनलाई आज भेन्टिलेटरबाट बाहिर निकाल्ने प्रयास छ । दुर्घटनापछि टाउकोमा जमेको रगत निकाल्ने शल्यक्रिया शनिवार करीव ६ घण्टा लगाएर सम्पन्न भएको थियो ।
रक्त चाप निकै कम रहेकाले बढाउनका लागि औषध चलाइएको र त्यसले काम गरेमा विस्तारै भेन्टिलेटरको सहाराबाट बाहिर निकाल्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
विरामीको अवस्था ‘क्रिटिकल’ नै रहेको चिकित्सकले बताएका छन् । नेपालप्रेसका बरिष्ठ संवाददाता राई शनिवार विहान दरवारमार्गको राइजिङ मल अगाडि सडक दुर्घटनामा परेका थिए । उनलाई ट्रमा सेन्टरबाट केएमसीमा रिफर गरिएको थियो ।