04, May, 2024

गोरखा २ का मतदातासँग माफी माग्दै बाबुरामले भने, ‘मेरो निस्वार्थ सहयोगमाथि प्रचण्डले कुठाराघात गरे’

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ बैशाख २०८१, बिहीबार १२:२९ | १ हफ्ता अगाडी

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी विभाजनपछि अहिले गृह जिल्लामा छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाडेका भट्टराईले कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउने बताए।

प्रचण्डलाई गोरखा २ छाड्नु आफ्नो गल्ती भएको भन्दै जनसेवामा समर्पित इमानदार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिचकिचाउनु नहुने तर्क गरेका छन्।

उनले भनेका छन्, ‘मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम/दान/दण्ड/भेदको दुष्चक्रमा फस्दै गएको उनको निष्कर्ष छ।

उनले थपेका छन्, ‘हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीव्र गतिमा स्खलित हुँदै गइरहेको, ठूलो जनवलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको, जनताका सुशासन र समृद्धिका आकाङ्क्षामा गम्भीर तुषारापत भइरहेको सन्दर्भमा आफू सदन र सरकारमा नगई पार्टी र सडकका मञ्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको हुँ।’

निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको र उल्टै आफूले निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गरेको आरोप लगाए।

देश र जनताका आकाङ्क्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौँ जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलबाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन भट्टराईको भनाइ छ।

असल मनसायले गरेको निर्णयले आम जनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति माफी समेत मागेका छन्।

१३ बैशाख २०८१, बिहीबार १२:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading