वि.सं.२०८१ माघ ५ शनिवार

सुदूरपश्चिममा नयाँ सरकार गठन गर्ने विषयमा शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

काठमाडौ । काठमाडौ सुदूरपश्चिममा नयाँ सरकार गठन गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानदेखि बसेको बैठक जारी छ। छलफलमा सत्तारूढ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रे‍ष्ठसहित सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी छन्।

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ।

त्यसअघि शक्ति बाँडफाँट तथा मन्त्रालय भागबन्डा टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

सुदूरपश्चिममा आज अपराह्न नाउपाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ।

तर संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादका कारण नाउपाबाट को मुख्यमन्त्रि बन्छ भन्ने विषय टुंगिसकेको छैन।

संरक्षक चौधरीले लक्ष्मणकिशोर चौधरीलाई र अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका छन्।

सुदूरपश्चिममा संरक्षक चौधरी पक्षका सांसदहरूको बहुमत छ । यसकारण पनि लक्ष्मणकिशोर चौधरीले आफू मुख्यमन्त्री बन्ने दाबी गरेका छन्।

तर अध्यक्षको निर्देशन अनुसार आफू मुख्यमन्त्री बन्ने पक्कापक्की रहेको कैलाशले बताउँदै आएका छन्।

नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य रामलाल डगौंराले पनि आफ्नो पार्टीको दलका नेता कैलाश चौधरीको नेतृत्वमा सरकार गठन गर्ने दलगत सहमति भइसकेको दाबी गरे। उनले साोही अनुसार सरकार गठनका लागि दाबी पेश गर्ने बताए।

‘नागरिक उन्मुक्तिले मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र राज्यमन्त्री लिने भन्ने छ,’ उनले भने।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गत चैत २२ गते मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख मियाले चैत २३ गते नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

त्यसपछि सत्ता गठबन्धनबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति भएको थियो।