18, May, 2024

सर्लाहीबाट प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका ‘मस्ट वान्टेड’ भारतीय डाँकाको ७ वटा घटनामा संलग्नता

बागमती भ्वाइस
बागमती भ्वाइस
६ चैत्र २०८०, मंगलवार १२:५६ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ सर्लाही प्रहरीले पक्राउ गरेका भारतका मस्ट वान्टेड दुई जना डाँका आरोपी ७ वटा घटनामा संलग्न भएको खुलेको छ।

सोमबार राति सर्लाही प्रहरीले भारत बिहार सीतामढी थाना सैयारा ग्राम बस्ने २८ वर्षीया सन्नी कुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट एक थान म्यागजिन, अमेरिकन पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद भएको छ।

सोमबार राति साढे ८ बजेतीर विशेष सूचनाको आधारमा खटिएको सादा पोशाकको प्रहरी टोलीले बरहथवा नगरपालिका ६ स्थित मगर टोलमा दुबै जना बस्ने डेरामा खानतलासी गरेको थियो। त्यस क्रममा जितेन्द्रले प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र साह थारुले बताए।

‘ती डाँकाहरूलाई पक्राउ गरेपछि भारतीय प्रहरीसँग समन्वय गर्दा उनीहरूले डकैती सहितका ७ वटा आपराधिक घटनामा संलग्न भएको र नेपालमा डकैतीको योजना बनाइरहेको खुलेको छ,’ उनले भने।

डिएसपी थारुका अनुसार दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याउँदै गर्दा भाग्ने प्रयास गरेका थिए।

बसबरिया गाउँपालिका ६ पोखरीयाबाट करिब ७ सय मिटर अगाडि मलंगवा तर्फको बाटोमा गाडीबाट भाग्ने क्रममा जितेन्द्रलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड फायर गरेको थियो। त्यस क्रममा जितेन्द्रको बायाँ घुडा र दाहिने तिघ्रामा २ राउण्ड गोली लागेको डिएसपी थारुले बताए।

घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार सम्भव नभई थप उपचारका लागि जनकपुर रिफर गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

६ चैत्र २०८०, मंगलवार १२:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading