काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलनअघि पदाधिकारी बैठक बोलाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमै बस्नेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदधिकारी बैठक बोलाएको सचिव गणेश शाहले बताए।
बैठकमा विधान सम्मेलनको एजेण्डाबारे छलफल हुने उनले बताए। विधानलाई पूर्णता दिने बिषयमा प्रचण्डले हिजा केन्द्रीय कमिटी बैठकपछि पनि पदाधिकारीसँग छलफल गरेका थिए। तर, विधानको बारेमा सहमति हुन सकिरहेको छैन।
पदाधिकारी बैठकले संघीयतामा पार्टीलाई कसरी अघि लाने र पार्टीको नेतृत्व कसरी चयन गर्ने भन्ने बिषयमालाई टुंग्याएपछि मात्रै सम्मेलन सुरु हुने एक नेताले बताए।
ती नेताले भने, ‘पदाधिकारी चयन कुन विधिबाट गर्ने सहमतिमा पुगेको छैन। छलफल भइरहेको छ। नेतृत्व चयन प्रत्यक्ष गर्ने कि कति प्रत्यक्ष कति समानुपातिक भन्नेमा सबैले आआफ्नो धारणा राख्नुभइरहेको छ कुरा मिलिसकेको छैन।’
पार्टी नेतृत्वसहित पार्टी कमिटीको बिषयमा पार्टीले विधानको मस्यौदा कार्यदलले तयार पारेको मस्यौदामा नेताहरुले असन्तुष्टि जनाएका छन्।
ती नेताले भने, ‘प्रस्ताव भएको कमिटी र नेतृत्वको बिषयमा पनि कुरा उठेका छन्। पदाधिकारीको संख्याबारे विभिन्न प्रस्ताव आएका छ। अहिले पदाधिकारीको बिषयमा छलफल भएपनि प्रचण्डको विकल्प खोज्नेतहसम्म छलफल भएको छैन।’
पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो । आजबाट तीन दिनसम्म चल्ने सम्मेलनले पार्टीको विधानलाई पूर्णता दिनेछ।