25, Apr, 2024

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको छ : सञ्चारमन्त्री शर्मा

Bagmati Voice
संवाददाता
२४ माघ २०७९, मंगलवार १४:१७ | १ साल अगाडी

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दावी गरेकी छन् ।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरु के-के हुन्छन भन्ने कुरामा पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ । हाम्रो क्यान महासंघकै तर्फबाट अघि अनौपचारिक रुपमा थोरै कुरा भएको छ ।’

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढन पनि निजी क्षेत्रलाई आह्वान गरिन् ।

उनले भनिन्, ‘मन्त्रालयबाट हामीले यस क्षेत्रमा गर्न सक्ने सहयोगहरु के के हुन सक्छन ? कमजोर अवस्था भएकाले धेरै सहयोग गर्न नसकौला । तर पनि केही न केही त यस क्षेत्रमा गर्नैपर्ने हुन्छ । यसका निम्ति यहाँहरुका आइडियाहरु, सुझावहरु पनि मन्त्रालयले प्राप्त गर्न सकोस् । त्यसका निम्ति पनि ध्यान दिनुहुनेछ भन्ने आग्रह गर्न चाहन्छु।’

उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममासम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको समेत बताइन्।

उनले भनिन्, ‘हामी यस क्षेत्रसँग सम्बन्धित कानुनहरुको बारेमा छलफल गरिरहेका छौं । हामी यस क्षेत्रको सम्बन्धित कानुनहरु छिटोभन्दा छिटो संसदमा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने भनेर हामी लागि रहेका छौं । त्यसकारण यसका लागि आवश्यक कानुनहरुको विषयमा पनि यहाहरुको सुझावको अपेक्षा गरेका छौं ।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्वकांक्षी योजनाहरु अघि सार्ने योजना पनि सार्वजनिक गरिन् ।

उनले भनिन्, ‘आजको दिनमा पनि हाम्रो आफ्नै स्याटलाइट छैन । हिजोको सरकारले हातहातमा मोवाइल, घरघरमा इन्टरनेट भन्दा त्यो नारा पनि सम्भव हो र भनेजस्तो हामीलाई लाग्दथ्यो । तर आज आएर त्यो सम्भव भयो । त्यस्तै महत्वकांक्षी नाराहरु अगाडि सारेर हामीले अगाडि बढ्न जरुरी छ भन्ने मलाई लाग्दछ । त्यसका निम्ति यहाँहरुको जुन अनुभव छ । त्यो हामीलाई पनि सहयोग गर्नु हुनेछ भन्ने मलाई लाग्दछ ।’

मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौं भन्ने भावना साथ अघि बढनुपर्नेमा पनि जोड दिइन् ।

२४ माघ २०७९, मंगलवार १४:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading