25, Apr, 2024

सातै प्रदेशमा पुग्यो कोरोना खोप

Bagmati Voice
संवाददाता
१३ माघ २०७७, मंगलवार १२:३४ | ३ साल अगाडी

काठमाडौ । सरकारले बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रदेश सरकारहरूले सोमबार नै केही जिल्लामा खोप पुर्‍याइसकेका छन् । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणमा जिल्ला अस्पताल र ठूला अस्पतालमा अग्रपंक्तिमा बसेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा लगाउने प्रदेश सरकारको तयारी छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्रदेशहरूका लागि रेफ्रिजेरेटर भ्यानमा खोप लगिँदै ।
प्रदेश १ का लागि ९६ हजार खोप सोमबार विराटनगर पुगेको छ । विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको खोप १४ वटै जिल्लामा मंगलबारसम्म पुर्‍याइसक्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंले पहिलो चरणमा ३५ हजार ५ सय ७६ जनालाई खोप लगाउने तयारी गरिएको बताए।

‘खोप लगाउनेको सूचीकरण स्थानीय तहले गरिसकेका छन् ‘पहिलो पटक खोप लगाएका व्यक्तिले १ महिनापछि पुनः लगाउनुपर्छ ।’ बाँकी खोप कसलाई लगाउने भन्नेबारे प्रदेश सरकारले नीति बनाइसकेको छैन । पहिलो चरणमा ७१ हजार १ सय ५२ खोप आवश्यक रहेको बताए ।

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले बुधबार ८ वटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट खोप अभियान सुरु गर्ने निर्णय गरेको छ । प्रदेश २ ले १ लाख ८० हजार खोप माग गरे पनि पहिलो चरणमा ३४ हजार प्राप्त भएको स्वास्थ्य निर्देशक विजय झाले बताए ।

प्रदेशभर ९ वटा बुथ राखेर खोप दिइने योजना छ । जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई नै खोप लगाउन परिचालन गरिने डा. प्रमोद यादवले बताए । उनका अनुसार पहिलो चरणमा ३३ हजार ६ सय स्वास्थ्यकर्मी र १ हजार २ सय ४ सरसफाइकर्मीलाई खोप लगाइनेछ 

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा उपलब्ध गराएको ७ हजार ६ सय भाइल खोप वाग्मतीको हेटौंडा पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत हेटौंडा–१ मा रहेको प्रदेश आपूर्ति केन्द्रमा खोप भण्डारण गरिएको छ ।

‘प्रदेशका १३ वटै जिल्लामा एकैपटक खोप लगाउने तयारी छ,’ मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईंले भने, ‘प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप लगाइनेछ ।’ खोप केन्द्र तोक्न र स्वास्थ्यकर्मी परिचालनका लागि मन्त्रालयका सचिव दीपक काफ्लेको संयोजकत्वमा समिति बनाइएको छ । एउटा स्वास्थ्य केन्द्रमा १० देखि २० जनासम्म स्वास्थ्यकर्मी परिचालन गरिनेछ । वाग्मती प्रदेशभर ६६ हजार ४ सय ८१ जनालाई पहिलो डोजको खोप लगाइनेछ ।

१३ माघ २०७७, मंगलवार १२:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading