24, Apr, 2024

समाजवादमा अघि बढ्नको निम्ति पूर्वाधारहरु विकास गर्न जरुरी हुन्छ, भौतिक, आर्थिक पूर्वाधारहरु विकास गर्न जरुरी छ : रामबहादुर थापा

Bagmati Voice
संवाददाता
१४ आश्विन २०७८, बिहीबार १७:१२ | २ साल अगाडी

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन् । बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताएका हुन् ।

उनले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु लागू हुनुपर्ने बताए । उनले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै नेता बादलले महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताए । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेस हुने बताउँदै उनले उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु जबजमा रहेको स्पष्ट पारे ।

थापाले भने, ‘जबजको कार्यक्रमा त्यसबेला जनवादको कार्यक्रम थियो र समाजवादमा संक्रमण गर्ने कार्यक्रम पनि थियो, त्यसैले तीनवटा कार्यक्रमका विशिष्ट रुपहरु नै जबजको कार्यक्रम हो ।’ उनले जबजबारे स्पष्ट पार्दै थप भने, ‘जनवादी क्रान्ति सम्पन्न गरेर गणतन्त्रको स्थापना गरिसकेपछि सामन्तवादका अवशेषहरूको अन्त्य गर्ने कार्यक्रमहरु लागू गर्नुपर्छ भन्ने कुरा त्यसैबेला तय गरिएको थियो जबजको कार्यक्रमको रुपमा । यो २०४९ सालको कुरा हो, यसलाई पाँचौँ महाधिवेशनमा मदन भण्डारी कमरेडले प्रस्तुत गर्नुभएको थियो । दोस्रो, क्रान्तिकारी उपलब्धिहरुलाई सुदृढ गर्ने र नेपाललाई द्रुत गतिमा विकास गर्दै राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रम हो ।’

थापाले एकैपटक समाजवादी क्रान्ति सम्पन्न गर्न नसक्ने हुनाले त्यसका लागि पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘समाजवादमा अघि बढ्नको निम्ति त्यसको पूर्वाधारहरु विकास गर्न जरुरी हुन्छ, त्यसका भौतिक, आर्थिक पूर्वाधारहरु विकास गर्न जरुरी छ, त्यसकारण राजनीतिक उपलब्धिहरुलाई सुदृढ गर्ने र देशको राष्ट्रिय पूँजीको विकास गर्ने कुराहरुलाई अगाडि सारिएको थियो, त्यो अहिले पनि सान्दर्भिक छ र अहिले पनि उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु अघि लिएर जानुपर्छ ।’

स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताए । उनले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताए ।

१४ आश्विन २०७८, बिहीबार १७:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading