24, Apr, 2024

लुम्बिनीमा सरकार गठनका लागि आह्वान, समयसीमा पुस २७ गते बुधवार ४ बजेसम्म

Bagmati Voice
संवाददाता
२१ पुष २०७९, बिहीबार १३:२८ | १ साल अगाडी

रुपन्देही । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको छ ।

प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्दछ । अहिले केन्द्रमा गठबन्धन गरेका ६ दलका ५३ सांसद रहेका छन् ।

एमाले र माओवादीले मुख्यमन्त्रीको दाबी गर्दै लीला गिरी र जोखबहादुर महरालाई दलको नेता बनाएका छन् । तर केन्द्रबाटै यहाँको मुख्यमन्त्री कुन दलले पाउने भन्ने सहमति भएको छैन ।

एमालेले पहिलो दल भएकाले कुनै पनि हालतमा लुम्बिनी नछाड्ने गरी अगाडि बढेको छ भने माओवादीले आफ्नो आधार इलाका मानिएको क्षेत्र र स्थायी कमिटीकै सदस्य रहेका महरालाई मुख्यमन्त्री बनाउन खोजिरहेको छ ।

एमालेसँग २९ र माओवादीसँग १० सांसद रहेका छन् । सत्तारुढ दलको गठबन्धनमा रहेका राप्रपा र नागरिक उन्मुक्ति ४/४, जसपा र जनमतको ३/३ सांसद रहेका छन् ।

सदनमा २७ सांसदसहित दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले पनि अहिलेको गठबन्धनलाई भत्काउन नागरिक उन्मुक्ति, जसपा, जनमतलाई ठूलै भाग दिएर मनाउन खोजेको छ । तर केन्द्रमा भएको गठबन्धनविरुद्ध तत्काल जान नसकिने ती दलका नेताहरूले बताएकाले त्यो सम्भावना कम देखिन्छ ।

२१ पुष २०७९, बिहीबार १३:२८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading