25, Apr, 2024

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न हिमालय र नेपाल एयरलाइन्सको कस्तो छ तयारी?

Bagmati Voice
संवाददाता
१७ कार्तिक २०७९, बिहीबार ०८:३७ | १ साल अगाडी

काठमाडौ । काठमाडौ हिमालय र नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेका छन्।

नागरिक उड्डयन प्राधिकरणले भैरहवा जान ताकेता गरेपछि दुवै स्वदेशी एयरलाइन्सले भैरहवाबाट सेवा सुरू गर्ने तयारी थालेका हुन्।

प्राधिकरणले तोकेको समयमा भैरहवा नगएपछि एयरलाइन्सहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा कटौती समेत गरिएको थियो।

भैरहवाबाट आधिकारिक रूपमा उडान सेवा दिन हिमालय एयरलाइन्सले बिहीबार (नोभेम्बर ३) देखि दैनिक चार्टर्ड उडान सुरू गर्दैछ। हिमालयले काठमाडौं-भैरहवा-क्वालालम्पुर चार्टर्ड उडान गर्न लागेको हो।

हिमालयले भैरहवाबाट चार्टर्ड उडान गरे पनि हालका लागि रात्रि पार्किङका लागि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आउने जनाएको छ। पूर्वाधार तयार नहुन्जेलसम्म काठमाडौं विमानस्थललाई नै आधार बनाएर भैरहवाबाट मलेसिया चार्टर्ड उडान गर्न लागेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए।

विमानस्थलबाट दैनिक उडान सुरू गर्न भौतिक पूर्वाधार, उडान योजनाको आधार केन्द्र, ग्राउन्ड ह्यान्डलिङको तयारी, क्रु-ब्रिफिङ कोठा, व्यावसायिक तथा प्राविधिक कार्यालय लगायतका पूर्वाधार तयार हुनु पर्छ। यी सबै काम गर्न समय लाग्ने भएकाले हिमालयको सञ्चालन आधार ठाउँ काठमाडौं विमानस्थल नै हुने उनले बताए।

‘अहिले काठमाडौंबाट चार्टर्ड उडानका लागि विमान भैरहवा जानेछ र भैरहवाबाट क्वालालम्पुर पुग्नेछ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं विमानस्थलमा राती पार्किङका लागि आइपुग्छ।’

यसरी तत्कालका लागि नियमित चार्टर्ड उडानको तालिका राखिएको र हिमालयले दैनिक यात्रुबाहक उडान गर्न भने केही समय लाग्ने उनले बताए। भैरहवा विमानस्थलबाट दैनिक उडानका लागि हिमालयले नागरिक उड्डयन प्राधिकरणसँग दुइटा माग राखेको छ।

उपाध्यक्ष श्रेष्ठका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र भैरहवा विमानस्थलमा कमर्सियल (व्यावसायिक) ग्राउन्ड ह्यान्डलिङको जिम्मा हिमालयलाई दिएमा यसले भैरहवाबाट यात्रुबाहक उडान सुरू गर्नेछ।

‘हामीले अहिले नियमित चार्टर्ड उडान सुरू गर्दैछौं,’ उनले भने, ‘हाम्रो उद्देश्य भनेको अटूट रूपमा दैनिक चार्टर्ड उडान गर्ने नै हो। नियमित उडानका लागि पनि तयारीमा जुटेका छौं।’

हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वर्षअघि नै सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति पाए पनि काम गर्न नपाएको उनले बताए। उनका अनुसार सात वर्षअघि उडान थालेको हिमालय एयरलाइन्सले आफ्नो यात्रुको ग्राउन्ड ह्यान्डलिङ गर्ने कानुनी प्रक्रिया पूरा गरिसकेको छ। तर सेल्फ ग्राउन्ड ह्यान्डलिङको काम नेपाल एयरलाइन्सले गरिरहेको छ।

‘अन्तर्राष्ट्रिय चलनअनुसार होम-बेस (स्वदेशी) एयरलाइन्सले आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न सक्ने व्यवस्था छ। तर हामीले कानुनी मापदण्ड पूरा गर्दा पनि यात्रुलाई यस्तो सेवा दिन सकेका छैनौं,’ श्रेष्ठले गुनासो गरे, ‘काठमाडौंमा सेल्फ र भैरहवामा कमर्सियल ग्राउन्ड ह्यान्डलिङको अनुमति दिनुपर्‍यो भन्ने हाम्रो माग हो।’

व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएपछि अन्य क्षेत्रमा पनि उडान विस्तार गर्ने उपाध्यक्ष श्रेष्ठ बताउँछन्। जुनसुकै एयरलाइन्सले पनि यात्रुको सहजताका लागि सरकारको निर्देशनअनुसार विमानस्थल प्रवर्द्धनका लागि काम गर्नुपर्ने उनको भनाइ छ।

‘हामीले यी दुई माग पूरा भएमा भैरहवाबाट उडान सुरू गर्ने प्रस्ताव प्राधिकरणसँग राखेका थियौं। यसमा प्राधिकरण सकारात्मक छ। हामी हातोमालो गर्न तयार छौं,’ उनले भने।

ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्गत कम्पनीले यात्रुको बोर्डिङ, चेक-इन, ब्यागेज, कार्गो ट्रली, र्‍याम्प बस लगायत सेवा दिनुपर्ने हुन्छ। हाल प्राधिकरणले भैरहवा विमानस्थलमा एक वर्षका लागि ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई दिएको छ।

नेपाल एयरलाइन्स पनि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न तयार भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने योजना बुझाउन गत सोमबार एक साताको समय दिएको छ।

निगमको वाणिज्य विभागले हाल भैरहवा उडानका लागि तयारी गरिरहेको निगम प्रवक्ता अर्चना खड्काले बताइन्।

उनका अनुसार हाल भैरहवा उडानका लागि निगमले तयारी गरिरहेकाले कहिलेबाट भैरहवामा जाने र कति उडान गर्ने भन्ने निश्चित छैन।

१७ कार्तिक २०७९, बिहीबार ०८:३७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading