26, Apr, 2024

भारतीय नागरिकले झूठो विवरण पेश गरी दाङ जिल्लाबाट यसरी नेपाली नागरिकता लिए

Bagmati Voice
संवाददाता
१३ असार २०७७, शनिबार ०२:४४ | ३ साल अगाडी

काठमाडौं । एक जना भारतीय नागरिकले झूठो विवरण पेश गरी दाङ जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको छ । भारतको बलरामपुर जिल्लाका विशाल कुमारले २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका हुन् ।

उनले ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् । नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र ठेगाना दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ उल्लेख छ । उनको नागरिकता प्रमाणपत्र नं. ५२–०१–७५–०४०५२ हो । नागरिकतामा प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारीको हस्ताक्षर छ ।

हिरालाल दमाई घोराही उपमहानगरपालिका वडा नं. ३ बर्गद्दाका वासिन्दा हुन् । हिरालालले भारतीय नागरिक विशाललाई ‘मितबहादुर’ बनाएर ऊ आफ्नो छोरो भएको भन्दै दिएको निवेदनको आधारमा घोराही उपमहानगरपालिका वडा नं. ३ ले नागरिकता बनाउन सिफारिस गरिदिएको थियो । सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिक विशाल कुमारलाई मितबहादुर दमाईको नामबाट नेपाली नागरिकता दिएको हो ।

यसरी दिलाइयो नेपाली नागरिकता

२५ वर्षे विशाल गुप्ता भारतबाट मजदुरी गर्न दाङको घोराही आएका थिए । घोराहीकै सम्झना नेपालीसँग उनले बिहे गरे र एउटा बच्चा पनि जन्मियो । बच्चाको जन्मदर्ता गराउने बेला विशाल भारतीय नागरिक भएकाले समस्या आयो । विशाल भारतीय नागरिक भएकै कारण विवाह दर्ता पनि भएको थिएन ।

त्यसपछि विशालकी श्रीमती सम्झना नेपालीले नाताले मित मामा पर्ने हिरालाल दमाईसँग विशाललाई नेपाली नागरिकता दिलाइदिन अनुरोध गरिन् । त्यसपछि हिरालालले सुरुमा बंगलाचुली–३ बाट बसाइँ सरेर घोराही उपमहानगरपालिका वडा नं. ३ मा बस्दै आएको बसाइँसराइँको निवेदन घोराही उपमहानगरपालिका वडा नं. ३ को कार्यालयमा २०७५ मंसिर २३ गते दर्ता गराए । त्यसको दुई दिनपछि विशाललाई आफ्नो छोरो मितबहादुर भन्दै नागरिकताको सिफारिस बनाएर सोही दिन जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा नागरिकता दिलाउन सफल भए । अचम्म त के छ भने भारतीय नागरिकलाई विशाललाई घोराही उपमहानगरपालिका वडा नं. ३ को सिफारिसमा बंगलाचुली गाउँपालिका वडा नं. ३ को ठेगाना राखेर नागरिकता दिलाइएको छ ।

गलत विवरण पेश गरी नेपाली नागरिकता लिएको कुरा डेढ वर्षपछि खुलासा भएपछि प्रहरीले विशाल कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । उनलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घोराहीस्थित उनको डेरामा छापा मार्दा प्रहरीले भारतीय विशिष्ट पहिचान प्राधिकरणले दिएको आधार कार्ड बरामद गरेको छ ।

साथै झूठो विवरण पेश गरी नेपाली नागरिकता दिलाउन भूमिका खेलेको भन्दै प्रहरीले हिरालाल दमाई, घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधवप्रसाद चौधरी, वडा सचिव पदमप्रसाद रेग्मी, त्रिपुरा खड्का, लिला अधिकारीविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले उनीहरु फरार रहेको र खोजी कार्य जारी रहेको बताएका छन् ।

तर, वडाअध्यक्ष चौधरी बिहीबारको घोराही नगरसभामा उपस्थित थिए । अन्य आरोपीहरु पनि कार्यालयमा नियमित काममा गइरहेका छन् । वडा सचिव रेग्मीले आफूहरु फरार नभएको र अदालतमा उपस्थित हुने बताएका छन् ।

उनीहरुले बंगलाचुलीमा गरिएको जन्मदर्ता ल्याएर व्यक्ति स्वयं उपस्थित भएको र बसाइँ सराइँको कागजसमेत पेश गर्दै हिरालालले आफ्नो छोरा हो भनेपछि त्यही आधारमा नागरिकताका लागि सिफारिस गरिदिएको बताएका छन् ।

१३ असार २०७७, शनिबार ०२:४४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading