26, Apr, 2024

बुथ कब्जाले बदनाम दोलखा, दर्जन बढी मतदान केन्द्र आयोगको उच्च निगरानीमा

Bagmati Voice
संवाददाता
२ मंसिर २०७९, शुक्रबार १३:०८ | १ साल अगाडी

काठमाडौं । निर्वाचन आयोगले हरेक निर्वाचनमा बुथ कब्जाले बदनाम बनेको दोलखाका केही मतदान केन्द्रहरूलाई विशेष निगरानीमा राखेको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा बुथ कब्जाका भिडिओ नै सामाजिक सञ्जालमा भाइरल भएपछि आयोगलाई तीनलाई समेत संकलन गरेर दोलखालाई सुरक्षा संवेदनशीलताको हिसाबले पनि पहिलो नम्बरमा राखेको छ ।

आयोग स्रोतका अनुसार दोलखाको प्रदेशसभा क्षेत्र नम्बर १ का करिब एक दर्जजन मतदान केन्द्रलाई ‘क’ श्रेणीको सुरक्षा निगरानीमा राखिएको छ । बैत्यश्वर गाउँपालिकाका तीनवटा मतदान केन्द्रलाई निगरानीमा राखिएको आयोगले जनाएको छ । जसमा गैरीमुदीका २ बुथ र मिर्गे छन् ।

गैरीमुदीका स्थानीयले २०४८ सालदेखिका प्रायः कुनै पनि चुनावमा मतदान गर्न पाएका छैनन् । यसपटक स्थानीय चुनावमा पनि कांग्रेसले दुवै बुथ कब्जा गरेको थियो । सो पालिकामा एमाले, कांग्रेस र माओवादी अलग-अलग लडेका थिए ।

त्यस्तै गौरीशंकर गाउँपालिकाको जुगु, झ्याकु र मार्बुलाई पनि निगरानीमा राखिएको छ भने तामाकोशी गाउँपालिकाकाका जफे, मालु, झुले र शहरेलाई सम्भावित बुथ कब्जा हुने मतदान केन्द्र मानेर निगरानीमा राखिने आयोगले जनाएको छ । यी गाउँमा स्थानीय तह चुनावमा पनि गठबन्धनले बुथ कब्जा गरेको थियो ।

यसका साथै जिरी नगरपालिकाको ठूलो पातालसहित मेलुङ र शैलुङ,बिगु गाउँपालिकाका केही मतदान केन्द्रलाई पनि संवेदनशील मानिएको छ । आयोगले ती क्षेत्रमा थप सुरक्षाकर्मीको प्रबन्ध गर्ने भन्दै विगतमा जस्तो भए कब्जा भएका ठाउँमा पुनः मतदान गराउने आयोगका एक पदाधिकारीले बताए ।

यसअघि निर्वाचन आयोगका पदाधिकारीहरूलाई नै भेटेर जिल्लाका कतिपय नेता तथा मानवअधिकारकर्मीहरूले दोलखामा सधैँ बुथ कब्जा हुने गरेकाले यसपटक विशेष व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

बुथ कब्जा हुने भनेर बदनाम भएका ठाउँमा सीसी क्यामेरा राख्नेबारे पनि छलफल भएको छ । तर, त्योमात्र भरपर्दो उपाय नभएकाले यसपटक माथिबाटै निगरानी र अनुगमन हुने आयोगले जनाएको छ ।

२ मंसिर २०७९, शुक्रबार १३:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading