25, Apr, 2024

बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षक नियुक्त

Bagmati Voice
संवाददाता
२९ चैत्र २०७९, बुधबार १३:२५ | १ साल अगाडी

काठमाडौं । बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षक नियुक्त भएका छन् ।

बी डिभिजनको च्याम्पियन बनेर हाल पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका चर्च ब्वाइजले लिगको बीचमा बुधबार बालगोपाललाई प्रशिक्षक अनुबन्ध गरेको छ ।

चर्च ब्वाइजले सामाजिक सञ्जाल फेसबुकमार्फत महर्जनलाई प्रशिक्षक बनाएको जनाएको छ ।

यसअघि नेपाली मुलका अमेरिकन प्रदिप हुमागाईँलाई चर्च ब्वाइजले मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

तर वर्क परमिट नपाएपछि हुमागाईँले क्लब छाडेका छन् । हुमागाईँले छाडेपछि महर्जनलाई प्रशिक्षक नियुक्त गरिएको क्लबले जनाएको छ ।

ए डिभिजनको डेब्यु सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको चर्च ब्वाइज ३ जित र ४ बराबरीबाट १३ अंक जोड्दै अंकतालिकामा तेस्रो स्थानमा छ ।

बिहीबार दशरथ रंगशालमा हुने फ्रेण्ड्स क्लब विरुद्धको खेलबाट बालगोपाल महर्जनले चर्च ब्वाइजको प्रशिक्षण सम्हाल्नेछन् ।

महर्जनले यसअघि थ्रीस्टार र मनाङ मर्स्याङ्दीको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् भने फ्रेण्ड्सको टेक्निकल कमिटीमा रहेर काम गरेका थिए ।

महर्जनको प्रशिक्षणमा नेपालले यू-१९ च्याम्पियनसिपको उपाधि जितेको थियो भने सिनियर टिमबाट बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो ।

यस्तै दुई वर्षअघि घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि पनि जितेको थियो । यस्तै पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएलमा काठमाडौं रेजर्सलाई पनि उनले उपाधि दिलाएका थिए ।

२९ चैत्र २०७९, बुधबार १३:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading