26, Apr, 2024

बाजुरा र स्याङ्जाको निर्वाचन विवाद : १० औं दिनसम्म पनि आयोग अनिर्णित

Bagmati Voice
संवाददाता
१४ मंसिर २०७९, बुधबार ०७:४० | १ साल अगाडी

काठमाडौं । स्याङ्जा–२ र बाजुराको निर्वाचन विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोग अनिर्णित बनेको छ ।

मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु एमाले र कांग्रेसले एक अर्कामाथि धाँधलीको आरोप लगाउँदा स्याङ्जा–२ र बाजुरामा मतगणना हुन सकेको छैन ।

दुई ठाउँको स्थलगत टोलीले प्रतिवेदन पेश गरेपछि त्यसमाथि छलफल गरेका आयोगका पदाधिकारीहरुले गएराति अबेरसम्म पनि कुनै निर्णय गर्न सकेनन् । बुधबार फेरी यसबारे छलफल गरेर निर्णय गर्ने आयोगको तयारी छ ।

स्याङजा–२ मा एमालेले कांग्रेसमाथि बुथ क्याप्चर गरेको आरोप लगाएको छ । चापाकोटमा मरेका मानिसहरुको नाममा समेत मतदान भएको, बुथ क्याप्चर गरिएको अनि विदेशमा भएकाहरुको नाममा समेत मतदान भएको भन्दै एमालेले अहिलेसम्मका प्रक्रिया रद्द गरेर फेरी मतदान हुनुपर्ने माग गरेको छ ।

स्याङजा र बाजुराको विषयमा कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वको छुट्टाछुट्टै टोलीले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मतगणना सुरु गर्न माग गरेका छन् । सबै प्रक्रिया टुंगिएको, मतदान अधिकृतले गडबड भएकोबारे कुनै मौखिक र लिखित सूचना नदिएको, निर्वाचन अधिकृतले मतपेटिका समेत बुझेको र त्यसरी बुझाउँदा प्रमुख दलका प्रतिनिधिहरुले रोहवरमा हस्ताक्षर समेत गरेको भन्दै कांग्रेस मतगणना शुरु गर्नुपर्ने पक्षमा छ ।

ज्ञापनपत्र बुझाउन निर्वाचन आयोग पुगेको नेपाली कांग्रेसको टोली ।
तर स्थलगत टोली पठाउने विषयमा आयोगका पदाधिकारीहरुविच नै राय बाझिएको अवस्थामा मतगणना गर्ने कि फेरी मतदान गर्ने भन्नेबारे निर्णय हुन सकेको छैन।

बाजुराको पनि अवस्था उस्तै हो । त्यहाँ बुढीनन्दामा मात्रै मतदान स्थगित भएको थियो । अन्यत्रको मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतलाई बुझाइएको छ । त्यहाँ भने कांग्रेस र एमालेले नै एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाउँदै केही ठाउँमा फेरी मतदान हुनुपर्ने माग गरेका छन् । दुवै दलले फेरी मतदान हुनुपर्ने भनी तोकेका ठाउँहरु भने फरक–फरक छन् ।

मतदानमा भएको विवादका कारण दोलखा, स्याङ्जा–२ र बाजुराको मतगणना प्रक्रिया अवरुद्ध थियो । यी ठाउँमा अध्ययन गर्न आयोगले सहसचिवहरु तुलसीप्रसाद श्रेष्ठ, फणिन्द्र गौतम र यज्ञप्रसाद भट्टराईको नेतृत्वमा छुट्टाछुट्टै टोली पठाएको थियो । दोलखाको हकमा फेरी मतदानको निर्णय भए पनि अरु दुई ठाउँको विवाद नटुंगिएको हो । दोलखामा भने भोलि (मंसिर १५ गते) पुनः मतदान हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले, निर्वाचन प्रक्रिया रोकिएका दुई क्षेत्रकै विषयमा आयोगको ध्यान केन्द्रित भएको र सकेसम्म छिटो निर्णय आउने बताए । उनले भने, ‘यी दुई विषयमा आयोगले प्राथमिकताका साथ काम गरिरहेको छ र निर्णय हुनासाथ थाहा हुन्छ ।’

१४ मंसिर २०७९, बुधबार ०७:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading