28, Mar, 2024

बहुदलपछि सुनसरी ३ ले पहिलो पटक सांसद फेर्‍यो, गच्छदारलाई हराउँदै भगवती विजयी

Bagmati Voice
संवाददाता
१३ मंसिर २०७९, मंगलवार १५:३९ | १ साल अगाडी

विराटनगर । दुई पटकको हारको बदला लिँदै सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् । ४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा चौधरीको जित निश्चित भएको छ ।

सार्वजनिक भएको पछिल्ले मतगणना अनुसार चौधरीले ३९ हजार २९७ मत पाएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् ।

उनीहरूबीचको मतान्तर ५ हजार ४३४ मत छ ।

चौधरी २०७० को निर्वाचनदेखि गच्छदारसँग निरन्तर पराजित हुँदै आएकी थिइन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३ सय ६२ मतले चौधरी पराजित भएकी थिइन् । ७४ मा भने उनी ३ सय २१ मतान्तरले पराजित भइन् ।
उनी २०७४ को निर्वाचनमा भने गच्छदारले धाँधली गरेको भन्दै पुस ११ गते भगवती सर्वोच्च गइन् । उनले लतपतिएको र बदर मतसमेत रुख चिन्हमा गणना गर्न लगाएको आरोप लगाएकी थिएन् ।

उनले भनेकी छन्- मतगणनाको १९औँ लटमा नौवटा अर्धकट्टीसहितको मतपत्र पाइएको, निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न दिइएन ।

मुद्दा परेको तेस्रो दिन अर्थात् १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्‍यो । तर, पाँच बर्ष वित्यो फैसला नआए पनि यस पटकको निर्वाचनमा चौधरीले बाजी मारिन् ।

बहुदलपछि एक छत्र राज
सुनसरी ३ बाट बहुदलपछि गच्छदारले एकलौटी चुनाव जित्दै आएका थिए । उनले गच्छदारले सुनसरीबाट ४८, ५१, ५६, ६४ र ७४मा निर्वाचन जिते । उनले २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरम, ७० फोरम लोकतान्त्रिकमा गएर समेत सो क्षेत्रबाट निर्वाचन जितेका थिए ।

ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बनमा परेको थियो । सांसद निलम्बनमा परेसँगै उनी क्षेत्रमा कमजोर भएका थिए । उनी निकटहरुले समेत उनलाई छाडे ।

को हुन् भगवती ?

कान्छी छोरीको रुपमा भगवती निम्न वर्गीय परिवारमा जन्मिएकी हुन् । त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी फरवार्ड लगुवित्त मार्फत महिलाको आर्थीक तथा सामाजिक विकासमा लागेकी छन् ।

उनी यस संस्थाको सस्थापक हुन् । अखिल नेपाल महिला संघको राजनीतिबाट एमालेको राजनीतिमा आएकी चौधरी हुन् । मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लाग्नु भएकी चौधरी अहिले नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह-इन्चार्ज छन् ।

उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू-संरक्षण राज्यमन्त्री समेत भएकी थिइन् ।

१३ मंसिर २०७९, मंगलवार १५:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading